कला


‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा, हर्क साम्पाङ बने कार्यकारी निर्माता

‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा, हर्क साम्पाङ बने कार्यकारी निर्माता

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १२:४६, काठमाडौँ

प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म ‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।

यसअघि ‘जारी २’ सँगै असोज ३ गते रिलिज हुने भनिएको उक्त फिल्म अब कात्तिक ६ गते भाइटीकाका दिन प्रदर्शन गरिने भएको हो।

एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै ‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो।

यसको कार्यकारी निर्माता जनउत्तरदायित्वका लागि सक्रिय 'हर्क साम्पाङ रिभोलुसन एन्ड टिम' हो। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङले गरेका छन्। 

अर्जुन सुवेदी निर्देशित यस फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय छ। 

चारवटा फरक-फरक पोस्टरले चलचित्रको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन्। एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेषभूषा र गहनामा सजिएकी देखिन्छिन्। 

अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिका देखिन्छन्। प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैलीलाई प्रस्ट्याउने यो दृश्यले कथामा ग्रामीण सौन्दर्य र सरल जीवनको प्रस्तुति हुने आभास दिन्छ। एक सामूहिक पोस्टरमा नायक-नायिकासहित अन्य पात्रलाई समेत समेटिएको छ। यहाँ लोकसंस्कृति, नाचगान र हास्य-मनोरञ्जनको आभास पाइन्छ। 

यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरे। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण हो। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायांकन गरिएको छ। 

सुशन प्रजापतिले खिचेको फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad