नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनलाई लिएर तीन बुँदे सहमति भएको छ।
तीन बुँदे सहमतिमा दुवै दलबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ। सहमतिअनुसार, कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएका छन्।
त्यस्तै, सहमतिको तेस्रो बुँदामा मधेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ।
शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि साथै रहेका थिए।

दुवै दलले प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनता र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्न सहमति गरिएको जनाएका छन्।
उनीहरूले भनेका छन्, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरुप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तिव्र तुल्याउन हामी दुई राजनीतिक दलहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी निम्तानुसारको सहमतिमा पुगेका छौं।’

Shares

प्रतिक्रिया