नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनको बागबण्डा टुंग्याउन शीर्षनेता छलफलमा छन्।
शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा बसेको हुन्। त्यसपछि नेकपा सहसंयोजक माधवकुमार नेपाल पनि छलफलमा सहभागी भएको एक नेताले बताए।
‘सुरुवातामा दुई जना बसेका हुन्, पछि माधव कमरेड पनि थपिनु भएको छ,’ एमालेका एक नेताले भने।
ओली र प्रचण्डबीच तीन घण्टादेखि छलफल चलिरहेको जनाइएको छ। आजै सहमति गर्नेगरी छलफल भइरहेको अर्का नेताले बताए। ‘आजै लिखित गर्नेगरी बस्नु भएको छ,’ उनले भने, ‘सकभर आजै टुंगो लाग्छ।’
एमाले र नेकपाका नेताबीच छलफल भइरहेको ठाउँ खुलाएको छैनन्।
दुवै पार्टीबीच मिलेर प्रदेश सरकार गठन गर्ने सहमति भइसकेको छ। त्यसको मोडालिटी र बागबण्डा टुंगो लाग्न बाँकी छ। त्यही टुंगो लगाउन ओली र प्रचण्ड छलफल गरिरहेका छन्।
यसअघि तीनै नेताबीच पटकपटक छलफल भएको थियो। शुक्रबार नै छलफल गर्ने भनिए पछि पुष्पलाल श्रेष्ठ स्मृति दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीमा सहभागी भएका कारण बस्न सकेका थिएनन्।
Shares

प्रतिक्रिया