आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ।
माया डिजिटलले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो। यद्यपि, फिल्म कति रकममा बिक्री भएको हो भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन।
अमेरिकामा प्रदर्शन अधिकार बिक्री भएपछि फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले खुशी व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकामा रहेका दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेकी छन्।
नीताका अनुसार अमेरिकाबाहेक अन्य देशका वितरकसँग पनि प्रदर्शनबारे छलफल भइरहेको छ। यसैबीच, फिल्ममा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छ।
निर्देशक ढुङ्गानाकै कथा र निर्देशनमा निर्माण भएको यस फिल्ममा उनी मुख्य भूमिकामा छिन्। नीतासहित फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको अभिनय रहेको छ।
शिवम् अधिकारीले पटकथा तयार पारेको यस फिल्ममा सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन छ। नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्।
यसअघि नीताले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन्।
Shares

प्रतिक्रिया