बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीबीन नेपालबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाइहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएको हो।
सीबीन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोरकिशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न सेवा सुरु भएको थियो।
सन् २०२६ सम्ममा सीबीन नेपालले सेवा सञ्चालनको सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी लिने र सन् २०२६ देखि २०२८ सम्ममा सरकारले क्रमशः आफ्नो बजेट विनियोजन बढाउँदै लैजाने सहमति भएको छ।
मन्त्रालयका अनुसार २०२८ पछि दुवै इकाईहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्ण रूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउनेछ।
स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटाले बालबालिकाको मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउनु सरकारको प्राथमिकता रहेको बताए।
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य जस्तो संवेदनशील र महत्त्वपूर्ण विषयलाई सरकारको प्राथमिकतामा राखी सेवाको पहुँचलाई देशव्यापी बनाउन सहज हुने मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया