समाज


इन्द्रजात्रा पर्व आज

इन्द्रजात्रा पर्व आज

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८२ शनिबार ५:३२, काठमाडौँ

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ।

इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ।

पूर्वतयारीअन्तर्गत भक्तपुरको चितपोल जङ्गलमा भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ।

आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ। यो परम्परामा विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो, अहिले भने राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ।

जात्राभरि भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच देखाइन्छ। जात्रा सुरु भएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाउन गर्ने धार्मिक विधान रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

यस अवसरमा उपत्यकाको पश्चिमस्थित दहचोकको इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ। यहाँ जाग्राम बसेर स्नान गर्ने धार्मिक परम्परा छ।

यसै दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरी ‘अनन्त चतुर्दशी’ पर्व पनि मनाइन्छ। यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरेर बाँध्दा वर्षभर शुभ हुने विश्वास छ।

श्रावण शुक्ल पूर्णिमामा यज्ञोपवीत (जनै) मन्त्रण गर्न नसकेकाहरूले आज मन्त्रण गर्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्। समितिअनुसार आज अनन्त चतुर्दशीको व्रतसमेत बस्ने प्रचलन छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad