धादिङमा बस र ट्यांकर ठोक्किएर दुर्घटना भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बादरेमोडस्थित पृथ्वीराजमार्गको सडकखण्डमा काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको पेट्रोल बोकेको ना ४ ख ३१३३ नम्बरको ट्याङ्कर ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका सुवास हमालका अनुसार बसमा ६० जना सवार रहेको र यीमध्ये १३ जना घाइते भएका छन्। उनीहरूको मलेखुस्थित राजमार्ग अस्पतालमा उपचार जारी छ।
घाइतेहरू सबै धादिङकै बेनीघाट रोराङ गाउँपालिका २ का रहेको हमालको भनाइ छ।
२० वर्षीया सरिता चेपाङ, ४५ वर्षीया हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय बिष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया,३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ घाइते भएका छन्।
बसचालक मकवानपुरको कैलाश गाउँपालिका-२ का ३१ वर्षीय जीवन राना र ट्याङकर चालक धादिङको थाक्रे गाउँपालिका-५ का ३५ वर्षीय बुद्ध थोकर प्रहरीको नियन्त्रणमा छन्।
Shares

प्रतिक्रिया