समाज


अस्पतालमा घाइतेको चाप, ‘डबल ड्युटी’मा स्वास्थ्यकर्मी

अस्पतालमा घाइतेको चाप, ‘डबल ड्युटी’मा स्वास्थ्यकर्मी

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:३५, काठमाडौँ

जेनजी प्रदर्शनका कारण अस्पतालमा घाइतेहरुको चाप बढेसँगै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेका छ। 

देशभरका २८ अस्पतालमा बिरामीको उपचार भइरहेको छ। काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूले स्वास्थ्यकर्मीहरूलाई डबल ड्युटी गराएर, छुट्टीमा रहेका स्वास्थ्यकर्मीहरूलाई बोलाएर स्वास्थ्य सेवा दिइरहेका छन्। 

बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालले प्रदर्शनका घाइतेहरूका कारण बिरामीको चाप अत्याधिक भएसँगै आकस्मिक सेवा बाहेकका अरु सेवा अहिले बन्द गरेर उपचार गरिरहेको छ। 

सिभिल अस्पतालमा ४८ जना घाइतेहरुको भर्ना भएर उपचार भइरहेको छ। चिकित्सकका अनुसार अस्पताल आएका ३५ जनाको शल्यक्रिया गरिएको छ। सिभिल अस्पतालले ४०० भन्दा बढी घाइतेहरूलाई उपचार सेवा दिइसकेको छ।

स्वास्थ्यकर्मीहरूलाई डबल ड्युटी गराएर र छुट्टीमा भएकाहरूलाई पनि फिर्ता बोलाएर सेवा दिइरहेको अस्पतालका निर्देशक डाक्टर मोहनचन्द्र रेग्मीले बताए।

अस्पतालले जनशक्ति व्यवस्थापन कठिन भएको जनाएको छ। चिकित्सक तथा नर्सहरु डबल ड्युटी गरेर भए पनि खटिरहेको भन्दै अस्पताल प्रशासनले हाललाई ओपीडी र ओटी सेवा बन्द गरेको जनाएको छ।
 
घाइतेको बढी चाप रहेको ट्रमा अस्पतालमा ५८ जना घाईतेहरुको उपचार भइरहेको छ। अस्पताले ३१ जनाको शल्यक्रिया गरेको जनाएको छ। हाल आइसियुमा ८ जनाको उपचार भइरहेको छ भने दुईजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जेनजी प्रदर्शनमा घाइते भएका १६१ जना ट्रमा सेन्टर लगिएको थियो। 

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले डबल ड्युटीमा लगाएर उपचार गराइरहेको जनाए। वीर अस्पतालमा नियमित तथा ओपीडी सेवा सञ्चालनमा ल्याएको छ।  

कर्फ्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आएको अस्पतालले जनाएको छ। 

त्रिवि शिक्षण अस्पतालमा २५ जना घाइतेहरुको उपचार भइरहेको छ। अस्पतालले ओपीडी सेवा सुचारु राखेको छ। जेनजी प्रदर्शनमा घाइते ३२१ जनाको हाल २८ अस्पतालमा उपचार भइरहेको छ। 

सोमबार र मंगलबार भएको प्रदर्शनमा १ हजार ३ सय ६८ जना घाइते भएका थिए। घाइते मध्ये ९४९ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad