समाज


दसैँलाई लक्षित गरी टोलमा भत्ता वितरण

दसैँलाई लक्षित गरी टोलमा भत्ता वितरण

नेपालखबर
असोज १२, २०८२ आइतबार १५:५९, दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो  । 

ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए। पालिकाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाको विभिन्न ठाउँमा पुगेर वितरण गरेको उनले बताए। 

तिमिल्सिनाले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारी खटिनुभएको छ। यसले गर्दा ज्येष्ठ नागरिकलाई बैंकसम्म आउनुपर्ने बाध्यता हटेको छ।’ ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले घरटोलबाट वितरण गर्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उल्लेख गरे।

उनले भने, ‘हामी जनताको सेवाका लागि आएका हौँ। जसरी सहज हुन्छ त्यसरी नै सेवामा समर्पित हुने प्रयास गर्दैछौँ।’ ज्येष्ठ नागरिकलाई झन्झटरहित सेवा दिन टोलमा पुगेर भत्ता वितरण गरिएपछि उहाँहरू खुसी भएको उनको भनाइ छ। चुमानले भने, ‘घरदैलोमा नै पुगेर भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकको अनुहारमा खुसी देख्दा हामीलाई आनन्द आउँछ।’

गाउँपालिकाले सबै वडाका टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ। अन्तिम दिन शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ को अदुवाखर्क, घोक्रिङ खर्क, सहकारी टोलमा भत्ता वितरण गरिएको छ। त्यस्तै आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुगाउँ, कोटगाउँ, धारापानीमा भत्ता वितरण गरिएको छ। 

वडा नं १ स्थित देवीडाँडा आमा समूहको भवन र समस्तीपुर, वडा नं २ स्थित एक्लेफाँट, पौवा, खोलागाउँ, तिलबारी, नयाँगाउँ, डुम्रीखर्क, ढापटार, नारीघाँट, खानीखोला, ढकालटार, वडा नं ४ स्थित घ्याङ्सिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडा, आमडाँडा, बेसी, खस्राङ, पूर्ववेसी, दुवावेसी, साँखर, बेनीटार, वडा कार्यालय भवन, वडा नं ५ स्थित लाब्दी, भेटेसरा, वडा कार्यालय भवन, घुमाउने, बरालुङबेसी, वडा नं ६ स्थित पर्लुङ, जालभञ्ज्याङ, हिलेखर्क, घलेडाँडा, प्यूघरमा पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण गर्दै आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad