समाज


कमजोर भइसकेको मनसुन दसैँका बेला केही बलियो बन्यो

आज यस्तो छ, वर्षाको सम्भावना
कमजोर भइसकेको मनसुन दसैँका बेला केही बलियो बन्यो

नेपालखबर
असोज १४, २०८२ मंगलबार ६:४९, काठमाडौँ

केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुनको प्रभाव दसैँका बेला केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कमजोर अवस्थाबाट थोरै माथि अर्थात् सामान्य अवस्थामा फर्किएको हो।

'मनसुन बलियो नै भएको त भन्न मिलेन, कमजोर अवस्थाबाट नर्मल (सामान्य) मा आयो भनौँ न', उनले मंगलबार बिहान नेपालखबरसँग भने, 'जलवाष्पयुक्त हावा आउने क्रम केही बढेको छ, साथै स्थानीय वायुको प्रभाव पनि छ।'

योसँगै वर्षाको मात्रा पनि केही बढ्ने अनुमान गरिएको छ।

मौसम महाशाखाले आज बिहान जारी गरेको वर्षाको प्रक्षेपण यस्तो छः 

आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड र तराई भूभागका केही स्थान, बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, र बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।  

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

मौसम महाशाखाका अनुसार कमजोर अवस्थामा रहे पनि नेपालमा अझै मनसुन छ। साथै स्थानीय वायुको पनि प्रभाव छ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख भए पनि हरेक वर्ष यसमा तलमाथि हुने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad