शुक्रबार रातिदेखि परेको अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ।
शुक्रबार, शनिवार र आइतबार बिहानसम्मको विवरणअनुसार इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको छ। इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेप्रसाद भट्टले बताए।
उदयपुरमा २२ जना सवार हायसको दुर्घटना भएको थियो। गाडी जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो। २२ मध्ये २१ जनाको उद्धार गरिए पनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए।
इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए। उदयपुरको गिरेबी खोलामा केही मानिसहरू डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।
समस्या आएका ठाउँमा सुरक्षा निकाय र स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको छ।
भट्टका अनुसार, मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ। पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको पनि उनले जानकारी दिए।
पाँचवटा ठूला नदीमा नै बाढीको जोखिम कायम रहेको उनको भनाइ छ।
यातायात बन्दको निर्णयलाई पूर्ववत् नै राखिएको बताउँदै उनले विपद्को जोखिम अझै कायमै रहेकोले सतर्कता अपनाउन आग्रह गरे। लामो दूरीको यात्रा नगर्न उनको सुझाव छ।
वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने उनले बताए।
Shares

प्रतिक्रिया