समाज


बस दुर्घटनाका घाइतेले उपचार नपाएपछि बर्दिबासमा यातायात बन्द

बस दुर्घटनाका घाइतेले उपचार नपाएपछि बर्दिबासमा यातायात बन्द

नेपालखबर
असोज २६, २०८२ आइतबार १३:१२, काठमाडौँ

दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन्। 

यही असोज १७ गते बर्दिबास-११ खयरमारामा ना.६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए। 

दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बिहान राजमार्गमा पर्ने बर्दिबास ३ गौरीडाँडामा सडक अवरुद्ध गरेका हुन्। 

दुर्घटनापछि गम्भीर घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको थियो। 

काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर इन्टरनेसनल हस्पिटल र पाटन अस्पतालमा उपचाररत घाइतेले यातायात ब्यबसायी संघ र बस संचालकले आवश्यक समन्वय नगर्दा बिरामीले औषधिसमेत नपाएको पीडित पक्षको गुनासो छ। 

यसैबीच बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले खयरमारा बस दुर्घटनाका घाइतेको उपचारको पहल गर्न आफू आज काठमाडौँ जान लागेको बताएका छन्। 

असोज १७ गते दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस बर्दिवास नगरपालिका–११ खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो। 

भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको थियो। 

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

खयरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad