समाज


प्रचार नहुँदा मुस्ताङको ‘घैलुङ’ गुफा ओझेलमा

प्रचार नहुँदा मुस्ताङको ‘घैलुङ’ गुफा ओझेलमा

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १४:५६, मुस्ताङ

घरपझोङ–३ स्याङस्थित ऐतिहासिक ‘घैलुङ’ गुफा ओझेलमा परेको छ। तत्कालीन समयमा लामा गुरुले ध्यान गरेर बस्ने भनिएको सो गुफा आवश्यक प्रचार/प्रसार हुन नसक्दा ओझेलमा परेको हो।

मुस्ताङ सदरमुकाम जोमसोम र स्याङ गाउँ नजिकै स्याङ खोलाको अग्लो पहाडमा अवस्थित घैलुङ गुफामा लामाले ध्यान साधना गर्ने गरेको स्याङ गाउँकी पूर्वआमा समूहकी अध्यक्ष सनदेवी थकालीले जानकारी दिइन्।

पछिल्लो सयम यहाँको घैलुङ गुफामा लामाले ध्यान गर्ने प्रचलन हराउँदै जान थालेको समूहका पूर्वअध्यक्ष थकालीले उल्लेख गरिन्। ‘यहाँ पहिलो लामाले ध्यान (छम) बस्ने चलन थियो, दुई वर्षअघि पनि सिक्किमबाट लामा आएर ध्यान गरेर गएका थिए,’ समूहका पूर्वअध्यक्ष थकालीले थपिन्, ‘अचेल त स्याङ गाउँभित्रकै आनी गुम्बामा ध्यान गर्न थालेपछि घैलुङ गुफा गुमनाम बनेको छ।’

यहाँको घैलुङ गुफा स्याङ खोलाको पक्की पुल नजिकैबाट पञ्चिमतर्फ बगरै बगर पैदल यात्रा गरेर २५ मिनेट पुग्न सकिन्छ। तर, सदरमुकाम नजिकै भएरपनि यहाँको गुफालाई पर्यटन प्रर्वद्धन गर्न नसक्दा घैलुङ गुफा ओझेलमा परेको समूहका पूर्व अध्यक्ष थकालीको भनाइ छ। मुस्ताङमा वर्षेनि आठ लाख बढी पर्यटक भित्रिदा स्याङ गाउँ नजिकै रहेको घैलुङ गुफा ओझेलमा परेको पूर्वअध्यक्ष थकालीको भनाइ छ।

परापूर्व कालमा यहाँका बौद्धधर्म अनुयायी लामाले बौद्ध शिक्षा हाँसिल गर्न गुफा र ओढारमा कसैले नदेख्ने गरी दुई÷तीन वर्षसम्म ध्यान गरेर बस्ने गरेका जनाइको छ। यसकार्यलाई स्थानीय भाषामा (छम) बस्ने भन्ने गरिएको छ।

यहाँको घैलुङ गुफामा तीन वटा कोठा छन्। लामाले ध्यान गर्दा आवश्यक पर्ने पूजा कोठा, भान्छा कोठार र पकाएर खाने किचन कोठा रहेको समूहका पूर्वअध्यक्ष थकालीले बताए। गुफामा अझै पनि पूजाका सामग्री र पकाएर खाने सामान रहेका छन्। गुफाको पूजाका कोठामा लुङ्ता झुन्ड्याएका छन्।

घरपझोङ–३ स्याङ गाउँको अधिनमा रहेको यहाँको घैलुङ गुफाको संरक्षण स्थानीय जनकल्याण युवाक्लव, गाउँ र आमा समूहलगायतले रेखदेख गर्ने गरिएको छ। गुफाको बाहिरी परिसरमा रातो माटोले रङ्ग्याइएर आकर्षक तुल्याएको छ। पछिल्लो समय स्याङ गुफा तलको खोलाको डिलबाट गुफासम्म रेलिङसहितको सिंढी बाटोसमेत निर्माण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad