समाज


अमेरिकामा कोरोना उपचारका लागि औषधि स्वीकृत, अब बिरामीलाई इन्जेक्सनमार्फत दिइने

अमेरिकामा कोरोना उपचारका लागि औषधि स्वीकृत, अब बिरामीलाई इन्जेक्सनमार्फत दिइने

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ३:५७,

अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारका लागि ‘रेम्डिसिभियर’ नामको एन्टिभाइरल औषधिलाई स्वीकृति प्रदान गरेको छ।

अमेरिकाकै औषधि कम्पनी ‘गिलियाड साइन्स’ले बनाएको औषधिलाई अमेरिकी सरकारले बिरामीमा प्रयाेगका लागि शुक्रबार स्वीकृति दिएको हो।

मानिसमा गरिएकाे परीक्षण क्रममा ‘रेम्डिसिभियर’ औषधिले कोरोना भाइरस नष्ट गरेको अनुसन्धाकर्ताले दाबी गरेका छन्।

यो औषधिलाई अमेरिकी केन्द्रीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय द फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्‌कालीन स्वीकृतिका रूपमा अनुमति प्रदान गरेको हो।

अब यो औषधि इन्जेक्सनमार्फत बिरामीलाई दिइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। तर यो औषधिले कोरोनाबाट हुने मृत्युदरलाई कति हदसम्म कम गर्छ भन्ने कुरा अहिल्यै स्पष्ट भइनसकेको विज्ञले बताएका छन्।

प्रारम्भिक रूपमा १ लाख ४० हजार बिरामीका लागि ‘रेम्डिसिभियर’ औषधि बनाइएको कम्पनीले जनाएकाे छ।यसले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।

सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमण उपचारका लागि यो औषधि पहिलोपटक बनाइएको थियो। तर त्यसमा यसले खासै प्रभाव गर्न नसकेको विज्ञको भनाइ छ।

अहिले विश्वमै कोरोना भाइरसको संक्रमणबाट पीडित देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ‘रेम्डिसिभियर’ औषधिले महत्वपूर्ण काम गर्ने भन्दै खुसी व्यक्त गरेका छन्।

अमेरिकी सरकारको सरुवा रोगसम्बन्धी प्रमुख विज्ञ डा‍क्टर एन्थोनी फाउचीले भने परीक्षण नतिजा प्रभावकारी देखिए पनि याे औषधिले काेराेना निर्मूल नै हुन्छ भनेर ढुक्क भइहाल्न भने नसकिने बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .