ad ad

कारोबार


अनुदानको नुन ६० रुपैयाँ किलोमा बिक्री

अनुदानको नुन ६० रुपैयाँ किलोमा बिक्री

हेमन्त केसी
बैशाख २०, २०७७ शनिबार ३:४३,

जाजरकोट जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु महंगो छ।

भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ। लकडाउनले गर्दा त्यहाँ यातायातका साधन चल्न दिइएका छैनन्। यातायातको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन्।

कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन्। अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन्।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ।

भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन।

यता खच्चडमा नुन ल्याएर बजारमा लुकीछिपी बिक्री गर्नेले प्रतिकिलो नुनको मूल्य ६० रुपैयाँ लिएका छन्। सदरमुकाममा प्रतिकेजी नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा ६० मा किनबेच भइरहेको छ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ। ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ। व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन्।

लकडाउनका कारण गाडी चल्दैनन्। प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ। बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० र माथिल्लो भेगतिर ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ।

सदरमुकाममा ९ रुपैयाँमा एक पोका पाइने नुन बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट–५ पाखाका प्रेम शाहीले बताइन्।

नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए। केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .