समाज


काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ

काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ

नेपालखबर
पुस ४, २०८२ शुक्रबार ५:३०, काठमाडौँ

नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ। 

यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना होटल र स्पा सञ्चालकहरुलाई पनि पक्राउ गरिएको प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ। सोही क्रममा ती होटल र स्पाबाट आठजना किशोरीको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२  की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन्।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्टहाउस र दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरी बालिकाहरुको उद्धार गरेको हो।

प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट ती किशोरीको उद्धार गरेको पनि प्रवक्ता खड्काले बताए। 

उनीहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad