बारा, रौतहट र सल्यानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ सूर्य नेपाल अगाडि सडकमा बीआर २२० बीएन २९७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो भएको सो दुर्घटनामा भारतको मोतिहारी रक्सौल सौलिहार चोक बस्ने २५ वर्षीय गोल्डी सराफको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरि सल्यानको दार्मा गाउँपालिका-५ तीते पातलस्थित सडकमा क.प्र ०२-०१ त ०४४४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रूकुमपश्चिम त्रिवेणी गाउँपालिका-३ झुल्नेटा बस्ने २१ वर्षीय सुरेश विक रहेका छन्।
शनिबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा उपचारको क्रममा गएराति मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरि रौतहटको चन्द्रपुर नगरपालिका-१० बालचनपुरमा ना.३ त ६४४३ नम्बरको ट्याक्टरले प्रदेश २-०३-०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका-४ सुन्दरपुर बस्ने ५० वर्षीय प्रमोद साह कानु रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज पठाइएको छ।
दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
यी सबै दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको भनाई छ।
Shares

प्रतिक्रिया