समाज


यात्रु भन्छन्- रनवेको बीच भागमा अवतरण भएको थियो जहाज

यात्रु भन्छन्- रनवेको बीच भागमा अवतरण भएको थियो जहाज

नेपालखबर
पुस १९, २०८२ शनिबार ७:४८, काठमाडौँ

झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन्। 

अवतरणको क्रममा जहाज रनवे कटेर करिब तीनसय मिटर पूर्व खोल्सामा पुगेर दुर्घटना भएको हो। 

जहाज रनवेको सुरुको छेउमा ल्यान्ड हुनुपर्नेमा बीच भागमा टचडाउन हुँदा रनवे अपुग भएपछि खोल्सामा पुगेको चालक दलका सदस्यले बताएका छन्।  

रनवे कम हुँदा जहाज रोकिन नसकी रनवे कटेर अगाडि बढ्दा दुर्घटना भएको हो। 

काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ तीनसय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले बताए। 

एन–एमएफ कलसाइन भएको एटीआर–७२ जहाजमा ४ जना क्रुमेम्बर र ५१ जना यात्रु  थिए। जहाज रनवेबाट करिब २ सय मिटर अगाडि घाँसे मैदान हुँदै खोल्सीमा लिम्बुले बताए। 

दुर्घटना हुँदा जहाजका दुवै पँखेटामा कुनै क्षति नपुगे पनि अगाडीको भाग क्षतिग्रस्त भएको छ। 

जहाजको पँखेटामा इन्धन भण्डारण हुने भएकाले त्यहाँ क्षति नपुग्दा आगलागी हुनबाट जोगिएको र ठूलो दुर्घटना टरेको विमानस्थल स्रोतले जनाएको छ। 

झापाकै अर्जुनधारा नगरपालिकाका मेयर समेत रहेका यात्रु बलदेवसिंह गोम्देन तामाङले अवतरणको क्षण निकै भयावह रहेको बताएका छन्। 

‘ल्यान्ड गर्दा स्पिड रोकिएन। जहाज उबडखाबड हुँदै अघि बढ्यो। सबै आत्तियौँ। अगाडिको एक युवकले दौडिएर आएर ढोका लात्ताले फुटाएपछि हामी त्यहीँबाट हाम फाल्यौँ,’ उनले भने।

पाँचथरका उमेश मोक्तानको साहसिक कदमले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनले बताए। 

विमान रनवेमा चिप्लिए पछि मोक्तानले इमर्जेन्सी झ्यालको ढोका खोलेका थिए। 

घटनको विषयमा मोक्तानले भने,  ‘एयर होस्टेज आँत्तिएपछि मैले धकेल्दिएर जहाजको इमर्जेन्सी ढोका खोलेँ। एयरहोस्टेजले नतान्नु भन्दै हुनुहुन्थ्यो, तर मैले उहाँको जिद्दी नमानिकन इमर्जेन्सी ढोका खोलेँ।’

मोक्तानले इमर्जेन्सी ढोका खोपछि यात्रुले त्यहीँबाट हाम फालेका थिए। 

उमेशले भने, ‘ल्यान्ड भइसकेको थियो। अब आइपुग्यो भनेर खुसी हुँदै थियौँ। तर एक्कासी चिप्लिएको आवाज आयो। पछाडि धुवाँ देखियो र गनायो। सबैजना डराउनुभयो। कोही कराउने गर्न थाल्नुभयो। मैले इमर्जेन्सी ढोका हत्तपत्त खोलेँ। धेरैजना आमाहरुले पनि त्यहीँबाट हाम फालेर ज्यान बचाउनु भयो। त्यतिबेला धेरैजना यात्रुले चिच्याउँदै ढोकामा लात्ता हानेका थिए। तर, ढोका खुल्ने अवस्था थिएन। सपना हो की बिपना जस्तो लागिरहेको छ।’

जहाज घटनापछि भद्रपुर विमानस्थल रातिदेखि नै अस्थायी रूपमा बन्द गरिएको छ। 

बुद्धको जहाज दुर्घटनाका कारण काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाज पनि विमानस्थलमै रोकिएको छ। जसका कारण यात्रु अलपत्र परेका छन्। 

बुद्ध एयरले घटनाबारे विस्तृत छानबिन हुने जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad