समाज


खोटाङमा भेटियो सङ्कटापन्न सूचीमा रहेको कालोसालक

खोटाङमा भेटियो सङ्कटापन्न सूचीमा रहेको कालोसालक

नेपालखबर
पुस २०, २०८२ आइतबार १५:४, खोटाङ

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ। प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको प्रमाणित गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको पुष्टि भएको हो। प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ।

एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र १० प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्बिर कैद गरिएको छ। त्यसमध्ये कालोसालक फेला पर्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)का कार्यकारी निर्देशक जीवन राईले बताएका छन्।

अध्ययनका क्रममा अतिसङ्कटापन्न अवस्थाका कालोसालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु (लङ्गुर), सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बासोबास रहेको प्रमाणित भएको जनाइएको छ।

स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिएका छन्।

सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैँले क्यामरा ट्र्यापिङ गर्ने क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, ११ खार्मी र रावाबेँसी गाउँपालिका–६ हौचुरका विभिन्न सामुदायिक वनमा १३ वटा क्यामेरा ट्र्यापिङ गरिएको थियो।

एनसिएससीले सालक संरक्षण तथा क्यामेरा ट्र्याप नतिजा पुस १९ गते जालपानमा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको छ। सात वटा सामुदायिक वन समूहको सहकार्यमा आयोजना गरिएको कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताले जिल्लामा चोरीसिकारीको बिगबिगी बढेकाले लोपोन्मुख जीवजन्तुको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जिल्लामा हुने चोरीसिकारी नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनबाट रेडपाण्डा, सालक, बाघ, भालुलगायत वन्यजन्तुको चोरीसिकार हुँदै आएको समाचार स्रोतले जानकारी दिएको छ। जिल्लाका कतिपय स्थानीय तहका सामुदायिक वनमा प्रहरी प्रशासनकै मिलेमतोमा चोरीसिकार हुने गरेको समाचार स्रोतको दाबी छ। केदार मगर/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad