राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताले निर्णय गरेकी छन्।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। तर यसमा त्रुटि भएकाले सबैको हकमा यो निर्णय कार्यन्वयन गर्न सरकारी वकिल कार्यालयलाई भनिने भण्डारीले नेपालखबरसँग भनिन्।
‘यसअघि निज रविका हकमा मात्रै भन्ने थियो तर अब सबैको हकमा अभियोग संशोधन हुन्छ’, महान्यायाधिवक्ता सविता भण्डारीले भनिन्, ‘हामीले विभेद गर्न मिल्दैन सबैलाई एउटै निर्णय हुन्छ, यसअघि त्रुटी भएको रहेछ त्यसलाई सच्याउने हो।’
यसअघि बुधबार भने महान्यायाधिवक्ताले रविविरुद्ध मात्रै यस्तो मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।
‘रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि अभियोग सम्मानित श्री कास्की जिल्ला अदालत, सम्मानित श्री काठमाडौं जिल्ला अदालत, सम्मानित श्री रुपन्देही जिल्ला अदालत र सम्मानित श्री पर्सा जिल्ला अदालतमा सम्मानित श्री चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दावी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दावी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ’, महान्यायाधिवक्ता भण्डारीको निर्णयमा उल्लेख छ।
अब रवि लामिछाने जोडिएका सहकारी ठगीका अभियुक्तलाई लगाइएका अन्य कसुर फिर्ताका लागि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिनेछन्।
२०८१ असोज १८ गते कास्की जिल्ला अदालतमा रविविरुद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
त्यसअघि यही सहकारी ठगीका अभियुक्तहरुविरुद्ध मुद्दा चलेको थियो। तर उनीहरुलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग लगाइएको थिएन।
रविलाई यी कसुर लगाउने भएपछि थप अभियोगमा उनीहरुलाई पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर लगाइएको थियो। तर अब सबैको हकमा अभियोग संशोधन हुने भएको हो।
Shares

प्रतिक्रिया