समाज


मागभन्दा न्यून आवेदन परेपछि २० भन्दा धेरै जिल्लामा फेरि थपियो ‘निर्वाचन प्रहरी’मा दरखास्त दिने समय

मागभन्दा न्यून आवेदन परेपछि २० भन्दा धेरै जिल्लामा फेरि थपियो ‘निर्वाचन प्रहरी’मा दरखास्त दिने समय

सुनसरीको इनरुवामा सञ्चालित निर्वाचन प्रहरीको लिखित परीक्षामा सहभागीहरू। तस्बिरः नवीन गड्तौला/रासस


नेपालखबर
माघ १०, २०८२ शनिबार ७:९, काठमाडौँ

माग भएको संख्याभन्दा कम आवेदन परेपछि  ‘निर्वाचन प्रहरी’मा दरखास्त दिने समय आज र भोलि (शनिबार र आइतबार) थप भएको छ।

देशका २० वटा भन्दा धेरै जिल्लामा मागभन्दा कम संख्यामा आवेदन परेको सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुले जनाएका छन्। 

पहाडी तथा हिमाली जिल्लामा निर्वाचन प्रहरीमा मागभन्दा कम संख्यामा उत्तीर्ण भएपछि दरखास्त दिने समय थप थप दुई दिन थप भएको हो।

निर्वाचन प्रहरीमा भर्नाको लागि आवेदन दिएकाहरुको लिखित परीक्षा बिहीबार र शुक्रबार  भएको थियो। 

आज र भोलि दरखास्त दिन सक्ने गरी २० भन्दा धेरै जिल्लामा फेरि म्याद थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तराईका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लामा भने पर्याप्त दरखास्त परेको छ।

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सोलुखुम्बु, धनकुटा, खोटाङलगायतका जिल्लामा मागभन्दा कम संख्यामा आवेदन परेको छ। 

पहाडी र हिमाली जिल्लामा बस्ने युवाहरूको संख्या घटेकाले निर्वाचन प्रहरीमा भर्नाको लागि दरखास्त कम परेको हो। 

हिमाली र पहाडी जिल्लामा दरखास्त दिनेमा महिलाको संख्या तुलनात्मक रूपमा धेरै देखिएको छ। 

सरकारले ४० दिनका लागि भर्ना हुन लागेका निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने बराबर तलब र रासन सुविधा दिने जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टकाअनुसार जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग भएको थियो। तर, आवेदन दिएकामध्ये नौसय जना मात्रै छनोट भएका छन्। 

माग भएको संख्याभन्दा कम आवेदन परेपछि रामेछापमा माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ। 

२१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९८० तथा सशस्त्र प्रहरीतर्फ १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। 

यही माघ १५ गतेदेखि निर्वाचन प्रहरीलाई तालिम दिने तयारी सरकारले गरेको छ। 

सरकारले गएको पुस २५ गते  ‘निर्वाचन प्रहरी’मा भर्ना आवेदन खुला गरेको थियो। सुरुमा १ माघसम्म आवेदन दिन सकिने भनिएको थियो। तर, माग अनुसार आवेदन नपरेपछि पटकपटक म्याद थप्दै आइएको छ। 

निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी सरकारले गरेको हो। 

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने प्रावधान राखिएको छ। 

पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउने प्रहरीले जनाएको छ।  

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad