उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्ड थिए। ड्युटी यूएईको आबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै थियो। आइतबार इरानले त्यहीँ मिसाइल आक्रमणको प्रयास गर्यो।
आकाशमा आइरहेको मिसाइललाई निस्क्रिय पार्न प्रतिरक्षा सुरक्षा प्रणाली सक्रिय पारियो। इरानको मिसाइल आक्रमणमा विफल भयो तर नेपाली युवा दिवस श्रेष्ठले ज्यान गुमाए।
दिवसका पिता चामबहादुर श्रेष्ठ आफैँ नेपाल प्रहरीका अवकाशप्राप्त अधिकृत हुन्। बुवाको पदचाप पछ्याउँदै दिवस पनि सुरक्षा पेशामै लागेका थिए, तर देशमा होइन, यूएईमा।
मोबाइल हराएको सूचना
स्थानीय सरस्वती माध्यमिक विद्यालयबाट एसईई पूरा गरेपछि उनी ओभरसियर पढ्न काठमाडौँ आएका थिए। तर, दुई वटा विषयमा उत्तीर्ण हुन नसकेपछि उनको पाइला वैदेशिक रोजगारीतर्फ मोडियो। विगत चार वर्षदेखि उनी ‘मिडल इस्ट’ कम्पनीमार्फत सेक्युरिटी गार्डको रूपमा दुबई आउजाउ गरिरहेका थिए।
गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ, ठाँटीका २९ वर्षीय दिवसका लागि यो वर्षको दसैँ अन्तिम बन्यो। २०८१ सालको दसैँ मनाउन घर आएका उनी दुई महिना परिवारसँग बसेर यूएई फर्किएका थिए।
घरमा उनको विवाहको कुरा चल्दै थियो। अर्को पटक छुट्टीमा आउँदा धुमधामसँग बिहे गर्ने सपना बुनेको श्रेष्ठ परिवारले सोमबार बिहान एउटा यस्तो खबर पायो, जसले पूरा गाउँलाई नै स्तब्ध बनाएको छ।

अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा परी दिवसको मृत्यु भएको हो। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गर्दै दिवसको निधनको पुष्टि गरेपछि मात्रै परिवारले यो कठोर सत्य थाहा पाएका हुन्।
एक्ला छोरा थिए
शनिबार बेलुका मात्रै दिवसले बुबासँग भिडिओ कलमा कुराकानी गरेका थिए। आइतबार भने छोराका साथीहरूले ‘मोबाइल हराएको र भागदौडमा खुट्टामा चोट लागेको’ खबर सुनाएका थिए।
छोराको अवस्थाबारे चिन्तित चामबहादुरले नेपालखबरसँग भने, ‘मोबाइल छैन भनेपछि अस्तिदेखि भिडिओ कलमा पनि कुरा हुन पाएको थिएन। सबैतिर हल्लाखल्ला हुन थालेपछि फोन गरेको थिएँ तर छोरालाई फोन लागेन।’
दिवस परिवारका एक्ला छोरा हुन्। उनकी दिदीको विवाह भइसकेको छ। आमा दिदीलाई भेट्न काठमाडौँमा रहेको बेला घरमा बुवा र हजुरआमा मात्रै हुनुहुन्थ्यो। जिल्ला प्रशासन कार्यालय, गोरखाले मृत्युको खबर पठाएपछि अहिले श्रेष्ठको घरमा छिमेकीहरूको जम्मा भएका छन्।
बोर्लाङ गाउँ शोकमा
चेतबहादुरले नेपालखबरसँगको कुराकानीमा दिवसको अन्तिम योजनाबारे सुनाए। उनले भने, ‘२०८१ को दसैँमा आएर २ महिना घर बसेर गएको थियो। ५-६ महिना पछि फेरि आउँछु भनेको थियो, घरमा विवाह गर्ने कुरा भइरहेको थियो।’
दिवसको मृत्युको खबर आएसँगै गाउँनै शोकमा डुबेको छ। ‘एउटा सामान्य मध्यमवर्गीय परिवारको एक्लो साहारा यसरी युद्धको चपेटामा परेर अस्ताएपछि अहिले सिंगो बोर्लाङ गाउँ शोकमा डुबेको छ’, गोरखाको भीमसेन थापा गाउँपालिका-७ की वडा सदस्य मालती ढकालले नेपालखबरसँग भनिन्।
Shares

प्रतिक्रिया