झापादेखि कञ्चनपुरसम्म तराईका जिल्लामा गर्मी बढ्ने क्रम सुरु भएको छ भने हिमाली भेगमा तापक्रम अझै शून्यभन्दा तल (माइनस) रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार देशभरको तापक्रममा ठूलो अन्तर देखिएको हो।
महाशाखाको पछिल्लो एक घण्टाको तथ्याङ्कअनुसार बर्दियाको शानोश्री चेपाङ स्टेसनमा सबैभन्दा बढी ३०.५ डिग्री सेल्सियस औसत तापक्रम रेकर्ड गरिएको छ। यस्तै, तराईकै सप्तरीमा २९.३ डिग्री तापक्रम मापन हुँदा हिमाली जिल्ला सोलुखुम्बुमा भने तापक्रम माइनसमा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो दिउँसो २:३० बजेसम्मको आधिकारिक अपडेट हो। तराईमा तापक्रम वृद्धि भएसँगै गर्मी महसुस हुन थालेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा अझै चिसोको प्रभाव कायमै छ।
Shares

प्रतिक्रिया