कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपाल, सिसैयाकी ३३ वर्षीय महिलामा स्वास्थ्य परीक्षणका क्रममा काठमाडौंमा कोरोना संक्रमण देखिएसँगै उनको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण परीक्षण गर्न थालिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले संक्रमितको सम्पर्कमा आएका ३० जनाको नमुना संकलन गरी पीसीआर परीक्षण भइरहेको जनाएको छ।
संक्रमित महिलाको सम्पर्कमा आएका परिवारका पाँच सदस्य, अटो चालक तथा छरछिमेकको गरी ३० जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।
‘संक्रमितको सम्पर्कमा आएका ३० जनाको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाएका छौँ, दुई/तीन दिनमा उनीहरुको रिपोर्ट आउँछ’ उनले भने।

कोराना संक्रमित महिला चैत ६ गते कान्छो देवरको ब्रतबन्ध कार्यका लागि काठमाडौंबाट बसमा कञ्चनपुर आएकी थिइन्। करिब दुई महिना उनले बेदकोट नगरपालिका–१० हरपाल, सिसैया स्थित घरमा बिताएकी थिइन्। सशस्त्र प्रहरीबाट अवकास प्राप्त ती महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लागेको छैन।
झण्डै ५२ दिन पछि वैैशाख २८ गते उनी छोरा–छोरीसहित सशस्त्र प्रहरीको भ्यानमा काठमाडौं फर्किएकी थिइन्। संक्रमित महिलाका श्रीमान काठमाडौंस्थित सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन्।
काठमाडौंमा स्वास्थ्य चेकजाँचका क्रममा ति महिलामा कोरोना पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया