काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने अभियानलाई सरकारले आज पनि जारी राखेको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत रुपमा निर्माण गरिएका संरचना धमाधम हटाइएको काठमाडाैँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
“कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ”, उनले भने।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५-२०, बालाजुमा तीन र तिलगङ्गामा ८९ संरचना आज हटाइने छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमवासी बस्ती हटाउने क्रम सुरु भएको हो। शनिबार काठमाडौँको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो।
बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न थालेको छ।
सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ।











Shares

प्रतिक्रिया