समाज


दिउँसो देशका यी स्थानमा वर्षा हुने सम्भावना

दिउँसो देशका यी स्थानमा वर्षा हुने सम्भावना

नेपालखबर
बैशाख २३, २०८३ बुधबार ८:४३, काठमाडौँ

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै देश पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण यतिबेला (बुधबार बिहान) कोसी प्रदेशमा पूर्णतया बादल लागेको छ। मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। बाँकी प्रदेशमा आंशिक बादल लागेको छ।

अनि कोसी प्रदेशका धेरै स्थान, मधेस प्रदेशको पूर्वी भूभाग तथा बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८ बजे जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।

यस्तै आज राति कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ र बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका केही स्थान, मधेस तथा बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना

आज (बुधबार) पनि काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ। 

‘बिहान हल्का वर्षा भएको थियो, अहिले रोकिएको छ’ , उनले नेपालखबरसँग बुधबार बिहान ७ बजेतिर भने, ‘फेरि पर्ने सम्भावना छ। आज मध्यमसम्म वर्षा हुने देखिएको छ।’ 

मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम एकैछिन खुल्ने, फेरि बादल लाग्ने, पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम चलिरहने सम्भावना छ। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ। 

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad