शक्तिशाली अम्पुन चक्रवातका कारण भारतको पश्चिम बंगालमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
त्यहाँकी मुख्यमन्त्री ममता बनर्जीले अहिले मृतक गन्ने अवस्था नरहेको र आफूलाई अहिलेसम्म १० देखि १२ जनासम्मको मृत्यु भएको सूचना आएको बताएकी छन्।
भारतीय सञ्चारमाध्यम ‘आजतक’का अनुसार अम्पुनका कारण आएको विशाल हावाहुरी र वर्षाले भारतका पश्चिम बंगाल र ओडिसा राज्यमा विध्वंश मच्चाएको छ। यी दुई राज्यमा रूख, बिजुलीका खम्बा ढलेका छन् भने घरका भित्ता भत्किएका छन्।
पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीले भनेकी छन्, ‘डीएम, पुलिस, प्रशासन सबै अलर्टमा छन्, कति जनाको मृत्यु भयो अहिल्यै भन्न सकिने स्थिति छैन। तर पनि अहिलेसम्मको सूचनाअनुसार १०–१२ जनाको मृत्यु भइसकेको छ।’
उनका अनुसार कैयौं घाइते भएका छन्। धेरैजसो मानिस रूख ढलेर लाग्दा मरेका छन्, घाइते भएका छन्। अहिले त्यहाँ पानी/बिजुली सेवा अवरुद्ध भएको छ।
मुख्यमन्त्री बनर्जीले भनेकी छन्, ‘हामी यहाँबाट ५ लाख मानिसको उद्धार गर्न सफल भएका छौं।’

प्रतिक्रिया