हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा देशको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोसी प्रदेशसहित देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल तथा बाँकी तराईमा मौसम मुख्यतया सफा छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम महाशाखाको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईसहित देशका बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो कोसी, बागमती र गण्डकी प्रदेश केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ, हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भेगमा भने आज तातो दिन तथा तराईमा तातो लहर हुने सम्भावना छ।
यसैगरी आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित बाँकी हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा आज राति कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया