मनसुन भित्रिएसँगै बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी चेतावनी जारी गर्न थालेको छ।
यसै क्रममा बाढी महाशाखाले आज देशका विभिन्न जिल्लाका खोला तथा नदीमा बाढी बढ्न सक्ने जानकारी गराउँदै सतर्कता अपनाउन सुझाव दिएको छ।
महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘आज सुनसरी, मोरङ, संखुवासभा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी प्रदशका केही स्थानमा मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
यस वर्ष मनसुन सरदर मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी जुन १९ तारिख (असार ५ गते) मा नेपाल भित्रिएको हो।
कोसी प्रदेशबाट भित्रिएको मनसुन अब बिस्तारै पश्चिमतर्फ फैलिँदै देशको पश्चिमसम्म पुग्छ। यसका लागि केही दिन लाग्ने मौसमविद् बताउँछन्।
बाढीबारे थप जानकारी तल



मौसम महाशाखाका अनुसार आज वर्षाको सम्भावना भने यस्तो छ:
दिउँसो : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
राति : कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशको तराईका केही स्थान, मधेस तथा बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा अपराह्नपछि वा साँझपख वर्षा हुने सम्भावना देखिएको हो।
‘त्यसअघि काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लाग्ने छ’, उनले नेपालखबरसँग भनिन्, ‘एकछिन खुलेजस्तो भए पनि फेरि बादल लाग्ने हुनेछ। र, साँझपख मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया