काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या ३५ पुगेको छ।
आज (सोमबार) बिहान एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमतिको संख्या ३५ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षका पुरुष मा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
यसअघि आइतबार पनि काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै आइतबार नै कोरोना संक्रमण पुष्टि भएका नुवाकोट ककानी-३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ।
अहिले काठमाडौंसहित विभिन्न जिल्लाका गरी टेकु अस्पतालमा मात्रै ५ जना कोरोनाका बिरामी रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सोमबार दिउँसो नेपालखबरलाई जानकारी दिए। आज थपिएका तीन जनालाई पनि सम्भवतः टेकु अस्पतालमै ल्याइने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसबाहेक बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा १५ जना, पाटन अस्पतालमा १२ जना र त्रिवि शिक्षण अस्पतालमा १ जना कोरोनाका बिरामी छन्।
तर काठमाडौं उपत्यकामा रहेका संक्रमितमध्ये धेरैजसो बाहिरी जिल्लाकै छन्, जो पढाइ तथा रोजागरीका सिलसिलामा काठमाडौंमा डेरा गरी बस्छन्।
सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितमध्ये उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरी जिल्लामा धादिङ, मकवानपुर, रामेछाप, चितवन, नुवाकोट, सर्लाहीका छन्। तर कुन जिल्लाका कति जना छन् भन्ने तथ्यांक भने अहिले आफूसँग नभएको उनले बताए।

प्रतिक्रिया