महिलाहरूका लागि सवारी चालक तालिम सुरु गरिएको छ।
पर्यटकहरूको सवारी चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरूलाई बिहीबारबाट काठमाडौँको बूढानीलकण्ठमा उक्त तालिम दिन सुरु गरिएको हो।
पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक केवी शाहले बताए। उनले नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि महिलाहरूको योगदान महत्वपूर्ण हुनेमा आफूहरू आशावादी रहेको पनि बताए।
परियोजना संयोजक शाहले भने, ‘महिलाहरूका लागि रोजगारीको तालिम संचालन गरेका हौँ। उहाँहरूले लाइसेन्स प्राप्त गरिसकेपछि पर्यटकीय वाहनहरू चलाउनु हुनेछ। र, पर्यटकहरूलाई गुणस्तरीय सेवा दिनुहुनेछ भन्ने आशा राखेका छौँ।’
यसैबीच तालिममा सहभागी प्रशिक्षार्थीहऋले सवारी चालक तालिममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। भक्तपुरबाट सहभागी भएकी जुनु शाहले उक्त तालिमले आफूहरूलाई दक्ष बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरिन्।
उनले भनिन्, ‘मैले धेरै पटक लाईसेन्स लिनका लागि प्रयास पनि गरेको हो। त्यसमा असफल भएँ म। यस पटक म आफूलाई दक्ष बनाउँछु भनेर आएको छु।’
परियोजनाले नेपाल पर्यटक यातायात व्यवसाय संघसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो। ३० दिनसम्म चल्ने तालिममा देशका विभिन्न भागमा ३८ जना महिलाहरू सहभागी भएका छन्। पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलाहरूको दक्षता अभिवृद्धि गर्न उक्त तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको पनि दिगो पर्यटन परियोजनाले जनाएको छ।
Shares

प्रतिक्रिया