हाल देशभर मनसुनी वायुको प्रभाव छ भने बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो असार १६ गतेदेखि मनसुन देशभर फैलिएको छ। सोही कारण बादल लाग्ने र वर्षा हुने क्रम बढेको छ।
यसै क्रममा आज दिउँसो देशभरको आकाशमा अधिकांश बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति देशभर अधिकांश आकाश बादलले ढाक्नेछ। अनि हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थान तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
काठमाडौँमा थप वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा गएरातिदेखि नै वर्षा हुने क्रम जारी छ।
अहिले भने केही कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
गएरातिदेखि बिहानसम्म काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा पानी परेको उनले बताए।
‘आज काठमाडौँ उपत्यकामा मौसम केही बेर खुलेजस्तो भए पनि फेरि बादल लाग्ने र वर्षा हुने क्रम जारी रहने देखिन्छ’, मौसमविद् लामिछानेले नेपालखबरसँग भने, ‘विशेषगरी अपराह्न वा साँझपख हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया