नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यक्षविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ भने उनलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।
बुधबार संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले प्रेस विज्ञप्ति जारी गरी पूर्वसचिव उपाध्यायलाई कारबाही गर्न माग गरेका हुन्। उपाध्यायले सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल (एनएमसी) र चिकित्सकहरूमाथि भ्रामक, आधारहीन तथा मानहानिपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संघले साइबर ब्यूरोसँग कानुनी कारबाहीका लागि माग गरेको हो।
संघले जारी गरेको विज्ञप्तिमा उपाध्यायले काउन्सिलका पदाधिकारीको मानमर्दन र चरित्रहत्या गरेको जनाइएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेसहित काउन्सिलका पदाधिकारीको मानमर्दन र चरित्रहत्या हुने गरी गरिएका गतिविधिको आवश्यक छानबिन गरी साइबर अपराधसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाउन संघले सम्बन्धित निकायसँग माग गरेको छ।
उपाध्यायले सामाजिक सञ्जालमार्फत काउन्सिलका रजिस्ट्रार पाण्डेमाथि आरोप लगाएका थिए। डा. चेतना पौडेल पक्राउको विरोध गर्दै उपाध्यक्षले काउन्सिलका रजिस्ट्रारको मानमर्दन हुने गरी लेखेका थिए।
त्यसलाई लिएर चिकित्सक संघले आपत्ति जनामएको हो। तथ्य र प्रमाणका आधारमा कामकारबाही गरिरहेको अवस्थामा काउन्सिल र त्यसका पदाधिकारीविरुद्ध तथ्यहीन तथा कपोलकल्पित अभिव्यक्ति दिइएको भन्दै संघले भ्रत्सना जनाएको छ।
संघले नेपाल प्रहरीको साइबर ब्यूरोलाई औपचारिक पत्र पठाउँदै पूर्वसचिव उपाध्यायले फेसबुकलगायत सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल र चिकित्सकहरूलाई लक्षित गरी निरन्तर रूपमा भ्रामक, आधारहीन, मानहानिपूर्ण तथा गैरजिम्मेवारपूर्ण सामग्री प्रकाशित गर्दै आएको आरोप लगाएको छ।
त्यस्तै, काउन्सिलका रजिस्ट्रार डा. पाण्डेले पनि बुधबार उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्। उनले उपाध्यायलाई कारबाही गर्न माग गरेका छन्।

Shares

प्रतिक्रिया