बृहत नागरिक आन्दोलनले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीको तत्काल व्यवस्थापन गर्न माग गरेको छ।
आन्दोलनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीप्रति सरकार गैरजिम्मेवार बनेको जनाएको छ। ‘सुकुम्वासी राखिएका होल्डिङ सेन्टरहरूमा खाना र पानीको अभाव गराएर गैरजिम्मेवार बनेको सरकार आफ्नो करतुत लुकाउन उद्धत छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले होल्डिङ सेन्टरमा निरंकुशता प्रदर्शन गरेको आन्दोलनको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘सुकुम्वासी बस्ती हटाउँदा उत्पन्न भएको संकटले नौ जना सुकुम्वासीको असामयिक मृत्यु भइसक्दा पनि सुकुम्वासीहरूको जीवन सुरक्षाको लागि सरकार संवेदनशील भएर यथोचित कदम चाल्नुको साटो होल्डिङ सेन्टरहरूमा निरंकुशता र स्वेच्छाचारिता प्रदर्शन गरेको छ।’
यससँगै होल्डिङ सेन्टर पुगेका जेनजी युवामाथि गरिएको धरपकडको पनि आन्दोलनले विरोध जनाएको छ। पक्राउ परिएका अभियन्तालाई तत्काल रिहा गर्न माग गरिएको छ।
बृहत नागरिक आन्दोलनले सबै नागरिक समान रहेको प्रत्याभूति दिलाउन भूमि र बासविहीन नागरिक नागरिकको अविलम्ब कुशल व्यवस्थापन गर्न, पक्राउ गरिएका अभियन्तालाई कानुनी अवस्थाबारे उत्पन्न अन्योलता अन्त्य गर्दै उनलाई मुक्त गर्न र देशमा गरिखाने वातावरण निर्माण गर्न माग गरेको छ। ‘मागको सुनुवाई नभएके अवस्थामा बृहत नागरिक आन्दोलन सडकमा ओर्लिन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

Shares

प्रतिक्रिया