प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ।
गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नं को एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए। उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य संघको रहेको छ।
तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शंकर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशंका गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको हो।
उनीहरुसहित एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ढुंगा प्रहारबाट प्रहरी निरीक्षक घाइते
बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुंगा प्रहार हुँदा घाइते भएका छन्। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका–५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उनका २७ वर्षीय छोरा हेमराज डाँगीले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात तथा ढुंगा प्रहार गरेको उनले बताए। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। रासस

प्रतिक्रिया