समाज


क्रसर माफियाको पक्षमा गाउँपालिका अध्यक्ष, पीडित पक्षलाई मिल्नका लागि दिँदैछन् दबाब

क्रसर माफियाको पक्षमा गाउँपालिका अध्यक्ष, पीडित पक्षलाई मिल्नका लागि दिँदैछन् दबाब

शैलेन्द्र महतो
जेठ २५, २०७७ आइतबार १०:३१,

युवकमाथि आक्रमण गरी गम्भीर घाइते बनाउने क्रसर माफियालाई धनुषाको बटेश्वर गाउँपालिका कार्यालय जोगाउनमा लागेको रहस्य खुलेको छ।

गाउँलाई जोखिममा पारेर बडहडी खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा गएको मंगलबार राति बटेश्वर गाउँपालिका १ विजयपुरका २२ वर्षीय सञ्जयकुमार महतोमाथि ज्याने लिने गरी आक्रमण भएको थियो।

 क्रसर माफियाहरुको आक्रमणबाट गम्भीर घाइते भएका सञ्जय यतिबेला काठमाडौं स्थित न्युरो अस्पतालमा भर्ना छन्। उनी जीवन मरणको दोसाधमा छटपटाई रहँदा आक्रमण गर्नेहरुलाई कारबाही गराउनुको साटो बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर उल्टै बचाउमा लागेको रहस्य खुलेको हो।

गाउँपालिका कार्यालयमा शनिबार दिउँसो गाउँले, जनप्रतिनिधि र पीडक पक्षबीच छलफल भएको थियो। त्यस छलफलमा अध्यक्ष राउतले आक्रमण गर्नेहरुले सञ्जयको उपचारको सम्पूर्ण खर्च बेहोर्ने गरी लिखित सहमति गर्न दबाब दिएको गाउँलेका तर्फबाट छलफलमा सहमागी स्थानीय उमेश महतोले बताए।

गाउँलेहरु सञ्जयमाथि आक्रमण गर्नेहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने, गाउँलाई जोखिममा पारेर भइरहेको खोला उत्खननको ठेक्का रद्द गरी बन्द गर्नुपर्ने, अवैध उत्खनन गरी स्टोर गरेको ग्राइभेल गाउँपालिकाकै सडकबाटो निर्माणमा खर्च गर्नुपर्ने लगातयका पाँचवटा मागसहित छलफलमा सहभागी भएका थिए।

सञ्जयकुमार महतो

‘पाँचवटा सर्तसहित छलफलमा गाउँलेको तर्फबाट हामी तीन जना सहभागी थियौं। तर, गाउँपालिका अध्यक्षले सुरुमै भन्नुभयो उपचारको सम्पूर्ण खर्च आक्रमण गर्ने पक्षले बेहोर्छन्। आक्रमण गर्नेहरुलाई कुनै प्रकारको कानुनी कारबाही अगाडि बढाउँदैनौ भन्ने लिखित कागज गरिदिनु पर्यो’, स्थानीय उमेश महतोले भने, ‘हामी आफ्नो अडानमा कायम रह्यौं। त्यसपछि छलफल स्थगित भयो।’

गाउँपालिका प्रमुख राउतले उपचार खर्च ब्यहोरेपछि पीडकमाथि कारबाही नगर्ने भनि कागज गरिदिनु पर्ने र पहिलाकै जस्तै सहज रुपमा मापदण्ड अनुसार खोला उत्खनन गर्न दिनुपर्ने लगायतको कुरामा दबाब दिएपछि छलफल स्थगित भएको उमेशले बताए। आक्रमण गर्नेहरुलाई जसरी पनि कारबाही गराउनुपर्ने सर्तसहित गाउँलेले आफूहरुलाई छलफलमा पठाएकाले पछाडि हट्ने कुरामा कुनै सहमति नहुने उनको भनाइ छ।

यता गाउँपालिका प्रमुखले राउतले दुबै पक्षबीच घाइतेको उपचार खर्च दिने सहमति भएको बताए। ‘छलफलमा आक्रमण गर्ने पक्षले उपचार खर्च दिने र गाउँलेले तिनीहरुमाथि कारबाही नबढाउने सहमति भइसकेको छ। आइतबार पुनः गाउँपालिकामा बसेर लिखित सहमति हुने कुरा छ’ अध्यक्ष राउतले भने।

‘उसो भए ज्यान मार्ने गरी आक्रमण गर्ने अपराधीलाई उपचार खर्च तिराएरै उन्मुक्ति दिन मिल्छ?’ भन्ने नेपालखबरको प्रश्नमा गाउँपालिका प्रमुख राउतले भने, ‘घाइते हुने र आक्रमण गर्ने एउटै वाडका बासिन्दा हुन्। व्यवहारिक हिसाबमा सहमति गर्यो भने मेरो कुनै विमति छैन। गरेन भने पनि दुबै पक्ष आ आफ्नो हिसाबले अघि बढ्छन्।’

घटनाको पाँचदिन बितिसक्दा समेत आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। इलाका प्रहरी कार्यायलय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले आक्रमण गर्नेहरुलाई खोजी भइरहेको, तर फेला नपारेको बताए। ‘हामी खोजबिन गरिरहेका छौं। तर कोही पनि फेला पर्न सकेका छैनन्’, प्रहरी निरीक्षक नायकले भने।

बटेश्वर गाउँपालिका १ को विजयपुर र चित्रपुर गाउँलाई जोखिममा पार्ने गरी स्थानीय बडहडी खोलामा भइरहेको उत्खनन् विरुद्ध विजयपुरका वासिन्दाहरु सोमबारदेखि विरोधमा उत्रेका थिए। उनीहरु खोलामा समेत सोमबार र मंगलबार गएर उत्खनन् रोकेका थिए भने एउटा स्काइभेटमा तोडफोड गरेका थिए। गाउँपालिका प्रमुख राउत उत्खनन् रोक्न चासो नलिएको भन्दै विजपुरका दुई सयबढी गाउँले मंगलबार गाउँपालिकामा डेलिगेसन गएका थिए। गाउँपालिका प्रमुख आउँछु भन्दाभन्दै मोबाइल स्विचअफ गरेर सम्पर्कबिहीन भएपछि वडा १ का वडाध्यक्ष शैलेन्द्र महतोले छलफल नहुञ्जेल उत्खनन नहुने प्रद्धिवद्धता जनाएपछि गाउँलेहरु फर्केका थिए।

तर त्यही राति पुनः क्रसर माफियाहरु स्काइभेटर लिएर खोलामा पुगेपछि गाउँले फेरि रोक्न गएका थिए। गाउँलेकै हुलबाट सञ्जयसहितका चारजना युवकहरु दौडेर अघि गइ अवैध उत्खनन् रोक्न खोज्दा हातहतियारसहित आएका क्रसरडनहले उनीहमाथि आक्रमण गरेका थिए। दुई युवक भाग्न सफल भएपनि सञ्जयमाथि फलामे रडले टाउकोसहित सरीरको विभिन्न भागमा ज्यान मार्ने गरी आक्रमण गरेका थिए।

आक्रमणमा सञ्जयका कान्छो भाइ सत्रोहन समान्य घाइते भएका थिए। गाउँलेहरु आएपछि मात्रै उनीहरु छाडेर भागेका थिए। सञ्जयका भाई सत्रोहनका अनुसार खोला खन्न उनीहरुले पेसेल, खुकुरी र फलामे रडसहितका हितयार लिएर आएका थिए। गाउँले आएको सुइको नपाएको भए दाजुभाइको हत्या नै गर्न सक्ने मनस्थितिमा क्रसरमाफियाहरु रहेको भाइ सत्रोहनको भनाइ छ।

कमिसनको सेटिंगमा गाउँपालिका प्रमुख राउत, वडाध्य महतोलगायत स्थानीय प्रहरी प्रशासन अवैध उत्खनन गराइरहेको गाउँलेहरुले आरोप लगाउँदै आएको छ। ६ फिट मात्रै खन्ने गरी बडहडी खोलामा क्रसरमाफियाहरुले १५ फिट गहिरोसम्म खन्दासमेत सम्बन्धित पक्ष मुकदर्शक भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad