समाज


उपत्यकाका भीडभाड हुने ठाउँका ३८ सय स्वाब परीक्षण गर्दा आयो यस्तो नतिजा

उपत्यकाका भीडभाड हुने ठाउँका ३८ सय स्वाब परीक्षण गर्दा आयो यस्तो नतिजा

यज्ञराज जोशी
असार ३१, २०७७ बुधबार ९:३४,

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन मानिसहरुको भिडभाड हुने सरकारी कार्यालय तथा बैंकहरुमा गरिएको स्वाव परीक्षणका क्रममा कसैलाई पनि संक्रमण नदेखिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

लकडाउन खुकुलो हुनु र आर्थिक वर्षको पनि अन्त्य हुन लागेकाले राजस्व, मालपोत, यातायात लगायत सरकारी कार्यालयमा मान्छेहरुको भिडभाड देखिएको थियो।

यस्तै लकडाउनका क्रममा पनि सेवा नरोकेका बैंकहरु विस्तारै पूर्ण सेवातर्फ फर्कन थालेका छन।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित बढ्नुका साथै यात्रा विवरण (ट्राभल हिस्ट्री) समेत नरहेका संक्रमितहरु भेटिएपछि महाशाखाले उपत्यकाका सार्वजनिक सेवा प्रदायक संस्थासहित विभिन्न स्थानबाट पाँच हजार जनाको स्वाव संकलन गर्ने योजना बनाएको थियो।

त्यसमध्ये मंगलबारसम्म ४५ सयको स्वाव संकलन भएको महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए।

‘काठमाडौं उपत्यकाका बिभिन्न स्थानसँगै बढी भीडभाड हुने सरकारी कार्यालय तथा बैंकहरु जस्ता सर्भिस प्वाइन्टहरुका जोखिममा हुनसक्ने व्यक्ति, कर्मचारी, शंकास्पद व्यक्तिहरु तथा सेवाग्राहीको स्वाब संकलन गर्‍यौं,’ डा. पाण्डेले भने, ‘संकलितमध्ये ३८ सयको परीक्षण भैसक्दा तीन जनामा मात्रै कोरोना पुष्टि भएको छ। ती तीनै जना कोही पनि सेवा प्रदायक संस्थाको पर्नुभएको छैन।’

महाशाखाले उपत्यकाका नख्खुटोल, कोटेश्वर, बोडे, शहिद गंगालाल अस्पताल, शंखमुल, कपन, त्रिभुवन विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा, टोखा नगरपालिका लगायतका स्थानसँगै ४०–५० वटा संस्थाहरुबाट नमूना संकलन गरेको पाण्डेले बताए।

महाशाखाले हरेक क्षेत्रबाट एक सयको हाराहारीमा नमूना संकलन गरेको थियो। गत आइतबारसम्म सेवा प्रदायक क्षेत्रका ५ सय ५ जनाको परीक्षण गर्दा कसैमा संक्रमण नभेटिएको उनले बताए।

उपत्यकाका तीन जिल्लामा हालसम्म ३५७ जनामा कोरोना संक्रमण देखिइसकेको छ। जसमध्ये काठमाडौंमा २ सय ३७ जना, ललितपुरमा ७५ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ।

उपत्यकाका संक्रमितमध्ये अधिकांश आयातित केस भएकाले समुदायमा फैलिएको प्रमाण नभएको पाण्डे बताउँछन। तर, यात्रा विवरण नभएका पनि छुटपुट संक्रमित भेटिएकाले होसियार हुनुपर्नेमा उनले जोड दिए।

‘बाहिर जिल्लामा संक्रमितको संख्या कम हुँदै जादा उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या बढ्दै जानुले चिन्ता थपेको छ,’ भाइरोलोजिस्ट समेत रहेका पाण्डेले भने, ‘धेरैजसो संक्रमित बाहिरबाट आएका तथा उद्धार गरिएका व्यक्ति छन। तर, कसैकसैलाई कहीँ पनि यात्रा नगरेका मान्छेलाई संक्रमण नभएको देखियो। त्यसैले हामी सुरक्षित बन्नुपर्छ।’

उनले कम परीक्षण भएर कम संक्रमित देखिएको कुरालाई अस्वीकार गर्दै निर्देशिका अनुसार परीक्षण गरिराखिएको र जोखिम क्षेत्रमा परीक्षण बढाउँदै लगिने बताए।

‘नमूना संकलन कम भयो त्यसैले त्यहिअनुसार संक्रमित पनि कम देखिए भन्ने हैन,’ उनले भने, ‘निर्देशिका बमोजिम हामीले परीक्षण गरिराखेकै छौं। अब जोखिम क्षेत्र तथा बाहिरबाट आएका मानिसहरुलाई पनि परीक्षण गर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .