समाज


स्थानीय वायु र पश्चिमी न्यूनचापीय रेखा: देशभर मौसम बदली र यी स्थानमा वर्षा

स्थानीय वायु र पश्चिमी न्यूनचापीय रेखा: देशभर मौसम बदली र यी स्थानमा वर्षा

नेपालखबर
जेठ २७, २०८३ बुधबार ८:५५, काठमाडौँ

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभावले हाल (बुधबार बिहान) कोसी, मधेस र लुम्बिनी प्रदेशसहित देशको हिमाली भू-भागमा साधारणतया बादल तथा देशका बाँकी भू-भागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको केही स्थान तथा कोसी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, 

दिउँसोः कोसी प्रदेशसहित देशको हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली प्रदेशमा हिमपात पनि हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने आज तातो दिन हुने सम्भावना छ।

रातिः देशभर साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। 

काठमाडौँमा थप वर्षाको सम्भावना, आज दिनभर मौसम खुल्दैन?

काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ। 

तर अहिले (बुधबार बिहान) भने काठमाडौँ उपत्यकामा वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए। 

‘विगत ३ घण्टाको कुरा गर्दा काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा हल्का वर्षा भएको छ’, उनले नेपालखबरसँग भने, ‘अझै बादल लागिरहेकाले थप वर्षाको सम्भावना छ।’

मौसमविद् दाहालका अनुसार केही समयपछि नै काठमाडौँ उपत्यकामा क्षणिक र हल्का वर्षा हुने सम्भावना छ। 

‘तत्काललाई त्यस्तो ठुलो वर्षाको सम्भावना देखिएको छैन’, उनले भने, ‘तर अपराह्न वा साँझपख भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

मौसमविद् दाहालका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा मौसम बदली भइरहने सम्भावना छ। 

‘बिचमा केही बेर खुलेजस्तो भए पनि फेरि बादल लाग्ने सम्भावना देखिएको छ आजलाई’, उनले भने। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad