यात्रीलाई बासी खाना खुवाउने दाङ, देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित पुगेको खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले होटल सञ्चालकलाई २५ हजार जरिवाना गरेको हो।
टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको भेटेको छ।
त्यसैगरी पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या होटलमा पाइएपछि जरिवाना गरेको बरालले जानकारी दिए।
उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरेपछि सरकारी टोली पुनः अनुगमनका लागि होटलमा पुगेको थियो।
यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो । तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागजपत्रसमेत ल्याउन निर्देशन दिइएको बरालले जानकारी दिए।
सो टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका थप सातवटा होटलको पनि अनुगमन गरेको छ।
Shares

प्रतिक्रिया