विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी/पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेना खोज तथा उद्धारमा निरन्तर जुटेको छ।
सेनाको खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालिन गरि खोज उद्धार तथा राहत वितरण कार्यलाई जारी राखेको जंगी अड्डाले जनाएको छ। नेपाली सेनाका परिचालित फौजहरुले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडकहरु सुचारु गर्ने र जोखिममा रहेका स्थानीयहरुको रवरबोट समेतको प्रयोग गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन्।
यसै क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा पहिरोका कारण खतरामा रहेका स्थानीयहरुको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यसैगरि झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय बासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमको न्यूनिकरण गरिएको छ।
चितवनकाे भरतपुर नगरपालिका २७ स्थित नारायणाी नदी किनारमा तटबन्ध निर्माण गर्दै सेनाका जवानहरु
रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ् र काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा अवरुद्ध सडक सुचारु गर्ने कार्य गरिएको छ। साथै दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका २ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी नेपालगन्ज पुर्याइएको छ।
प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका जनशक्ति तथा श्रोत साधनहरु अनवरत रुपमा खट्टिरहेको जानकारी गराउँदै सेनाले तत्काल उद्धार तथा राहतको लागि काठमाडौं, ईटहरी, भरतपुर र सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टरहरु स्ट्याण्डबाईमा राखिएको जानकारी गराएको छ।

प्रतिक्रिया