समाज


कडा लक्षणका बिरामी र बढ्दो मृत्युदरसँगै नेपालमा भयावह बन्दै कोरोना संक्रमण

कडा लक्षणका बिरामी र बढ्दो मृत्युदरसँगै नेपालमा भयावह बन्दै कोरोना संक्रमण

यज्ञराज जोशी
साउन १६, २०७७ शुक्रबार ११:५९,

स्वास्थ्य क्षेत्रका विज्ञहरुले नेपालमा लक्षणसहितको बिरामीसँगै मृत्युदर पनि बढ्नथालेपछि कोरोना संक्रमणको अवस्था थप गम्भीर बनेको बताएका छन्।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक तथा भाइरोलोजिष्ट डा.वासुदेव पाण्डेले केही दिनयता संक्रमणको अवस्था गम्भीर प्रकृतिको देखिएको बताएका हुन्।

‘पछिल्ला दिनमा झण्डै एक तिहाइमा कडा खालका लक्षण देखिएको छ। मृत्यु हुने दर पनि बढेको छ’, उनले नेपालखबरसँग भने, ‘यो अलिकति गम्भीर खालको अवस्था हो। अब झनै सतर्कता अपनाउनुपर्छ।’

उनका अनुसार साउन अघिसम्म नेपालमा ९९ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएका थिएनन्।

अहिले भने बिरामीलाई ज्वरो, रुघाखोकी, जिउ थाक्ने, श्वास फेर्न समस्या हुनेजस्ता लक्षण देखिन थालेका छन्। त्यस्तै, विभिन्न रोग भएका बिरामीलाई आईसीयूमा राखेर उपचार समेत गर्नुपरेको छ।

शुक्रबारसम्मको ताजा तथ्यांकअनुसार देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ भने ५६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, बिहीबारसम्म २६ संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकाका सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नौ जना, सशस्त्र प्रहरी अस्पताल वलम्बुमा दुई जना तथा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ।

यस्तै नारायणी अस्पताल वीरगञ्जमा ५, लुम्बिनी प्रादेशिक अस्पतालमा ३, नेपालगञ्ज मेडिकल कलेजमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पतालमा १÷१ संक्रमितको उपचार भइरहेको छ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। उपचार भइरहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको अस्पतालको व्यवस्थापन गरिरहेका डा. मदन उपाध्यायले जानकारी दिए।

‘संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आईसीयूमा उपचार भइरहेको छ’, उनले नेपालखबरसँग भने, ‘यसअघिका संक्रमितमा लक्षण नदेखिए पनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिनथालेका छन्।’

घना बस्ती रहेको काठमाडौं उपत्यकामा मात्रै हालसम्म ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। उपत्यका छिर्ने नागढुंगा, फर्पिङ र साँगा नाकामा गरिएको स्वाब संकलनमध्ये तीन हजार चार सय ७३ को परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ।

डा. पाण्डेका अनुसार काठमाडौंमा संक्रमित देखिएकामध्ये ३ सय ५० जना स्थानीय छन्। काठमाडौं उपत्यकाजस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलिएमा जटिल समस्या आउनसक्ने उनले बताए। सोही कारण सबै अझै सचेत हुनुपर्ने बेला आएको पाण्डेको आग्रह छ।

बढ्दो मृत्युदर
कोरोना संक्रमणका कारण नेपालमा दिनानुदिन मृत्युदर पनि बढ्दै गएको छ। पछिल्लो एक महिनामा औसत दैनिक एक जनाको मृत्यु भएको छ। शुक्रबारमात्रै नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

नेपालमा अधिकांश दीर्घरोगीहरु कोरोनाका कारण मृत्यु भएको डा. सन्तोष दुलालले बताए। उनले ४५ जनाको मृत्यु पुष्टि हुँदा गरेको अध्ययनमा ७३ प्रतिशत मृत्यु दीर्घरोग लागेका मानिसहरुको भएको बताए। नेपालमा कोरोनाको औसत मृत्यु उमेर ४७ वर्ष रहेको डा. पाण्डेले अध्ययनमा उल्लेख गरेका छन्।

विश्वका अन्य देशजस्तै नेपालमा पनि दीर्घरोगीहरुमा कोरोना संक्रमणको कारण मृत्युदर बढिरहेको भन्दै उनले दीर्घरोगीहरु अस्पताल उपचारको लागि भर्ना हुनेबित्तिकै कोरोनाको परीक्षण र उपचारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

यो पनि :
कोरोना हटस्पट बन्दै ठूला सहर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .