समाज


इल्ताफ पक्राउसँगै सुनकाण्डमा संलग्नताको आरोपबाट चोखियो प्रहरी

इल्ताफ पक्राउसँगै सुनकाण्डमा संलग्नताको आरोपबाट चोखियो प्रहरी

उजिर कार्की
साउन २९, २०७७ बिहिबार १६:४,

साउन १३ गते बिहान प्रहरीले काठमाडौंमा एउटा सुन अप्रेसन गर्‍यो। १५ किलो सुन र २ थान हतियार समातिएको भनिएको त्यो अप्रेसन त्यसबेला शंकाको घेरामा पर्‍यो, जतिबेला समातिएको सुन नक्कली निस्कियो।

सो घटनाको १५ दिनपछि प्रहरीले आफ्नो नाम केही हदसम्म चोख्याउन सफल भएको छ। सो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका इल्ताफ हुसेन बुधबार पक्राउ परेका छन्।

हालसम्म पक्राउ परेका सबैले बयानमा इल्ताफकै नाम लिएको प्रहरीले बताएको थियो। सुन मालिक भनिएका इल्ताफलाई पक्राउ गर्नु प्रहरीको साखसँग पनि जोडियो।

काठमाडौं प्रहरीलाई त त्यो अप्रेसन नक्कली थिएन भनेर पुष्टि गर्न पनि जतिसक्दो छिटो इल्ताफलाई पक्राउ गर्नुपर्ने चुनौती थियो। नक्कली नोटका कारोबारी इल्ताफ यसअघि पनि दुई पटक पक्राउ परिसकेका व्यक्ति हुन्।

काठमाडौं प्रहरीले बाराबाट पक्रेर उनलाई काठमाडौं ल्याएको छ। उनीसँगै घटनास्थलबाट भागेका सञ्जय पटेल फरार छन्।

त्यो दिन प्रहरीले घटनास्थलबाट साढे १४ किलो चाँदी र दुई थान चाइनिज पेस्तोल बरामद गरेको जानकारी गरायो। तर घटनामा प्रयोग भएको गाडी र अभियुक्त भागेको घटनाले प्रहरीमाथि नै प्रश्न उब्जायो।

प्रहरीले बरामद सुन सार्वजनिक गर्दा एउटा पनि अभियुक्त उभ्याउन सकेको थिएन। त्यही भएर धेरैको शंका सुन जस्तै अपे्रसन पनि नक्कली त होइन भन्ने थियो।
प्रहरीमाथिको शंका पुष्टि पनि भयो। सुन लिएर अभियुक्त भगाउने दुई प्रहरी नै हिरासतमा छन्। उनीहरुले नै सुन लुकाएको पत्ता लाग्यो।

अप्रेसनमा प्रहरी संगठनले नै चित्त बुझाउन सकेन। महानगरीय प्रहरी कार्यालयले छानबिन समिति नै गठन गर्‍यो।

छानबिन समितिले प्रतिवेदन बुझाइसकेको भएपनि प्रतिवेदन सार्वजनिक गरिएको छैन। तर थप प्रहरीलाई कारबाही गर्न सिफारिस भने नगरिएको प्रहरी स्रोत बताउँछ।

दरबारमार्ग वृले गरेको अप्रेसनमा अभियुक्त भागेसँगै व्ृत्तका प्रमुख डीएसपी रन्जन दाहाललाई जिम्मेवारीबाट हटाएर एकेडेमी तानिएको छ।

यसअघि तीन अभियुक्त भने नवलपरासीबाट पक्राउ परेका थिए। उनीहरुलाई भगाउन सहयोग गरेको भन्दै ट्याक्सी चालक पनि पक्राउ गरेको थियो। तर, उनको संलग्नता नरहेको र भाडा लिएर उनीहरुलाई लगेको मात्रै पाइएपछि उनी हिरासतमुक्त भइसकेका छन्।

घटनामा संलग्न रहेको आरोपमा दरबारमार्ग वृत्तका प्रहरी जवान बहादुरसिं कठायत र प्रशन्न श्रेष्ठ पक्राउ परेका छन्। सुन लुकाएको भेटिएपछि प्रहरीका साथी उमेश श्रेष्ठ पनि पक्राउ परिसकेका छन्।

अप्रेसनमा संलग्न प्रहरी मात्रै होइन प्रहरीलाई सूचना दिने व्यक्ति पनि पक्राउ परेका छन्। प्रहरीलाई सूचना दिने कौशल पटेललाई न्युरोडबाट प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो।

प्रहरीलाई सुन र हतियार बुझाएका निलेश सखियासहित विजय पटेल र देवानसिंह पटेल नवलपरासीबाट पक्राउ परे। घटनामा प्रयोग भएको गाडी दुई दिनपछि ललितपुरको नखीपोटमा फेला परेको थियो।

तर सोही गाडीमा फरार भएका इल्ताफ र सञ्जय फेला नपर्दा रहस्यमय बनेको घटना इल्ताफको गिरफ्तारीसँगै सल्टिँदै गएको छ।

पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल यो घटनाबाट प्रहरीले पाठ सिक्नु पर्ने बताउँछन्। यो घटनामा सूचनाको मूल्यांकन, विश्लेषण र सोही अनुसारको अप्रेसन गर्न प्रहरी चुकेको मल्लले बताए।

यो पनि:

सुनकाण्डका अभियुक्तको बयानः सुन्धाराको आकासे पुलमा सुन लिएपछि प्रहरीले भाग्न इसारा गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad