उपचारमा क्रममा जनकपुरमा फेरि अर्की एक महिलाको मृत्यु भएको छ। उपचारमा लापरवाही भएका कारण मृत्यु भएको भनी उनका आफन्तहरुले आरोप लगाएका छन्।
जनकपुरको नवजीवन हस्पिटलको लापरवाहीले जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाण टोलकी ३५ वर्षीया रुकमणीदेवी सदाको मृत्यु भएको हो। पित्तथैलीमा भएको पत्थरी झिक्न शल्यक्रिया गर्दा चिकित्सकले आन्द्रा काटेपछि उनको मृत्यु भएको आरोप पीडित परिवारले लगाएका छन्।
पेट फुल्ने, दुख्ने समस्या भएपछि २५ साउनमा उनी जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलमा भर्ना भएकी थिइन्। उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि बुधबार अस्पतालले पेटको शल्यक्रिया गरेको थियो। शल्यक्रियाको एकदिनपछि बिहीबार उनकाे मृत्यु भएको हो।
अस्पतालकै लापरबाहीले दिदीको मृत्यु भएको भाई इन्दल सदाले बताए। ‘दिदीलाई पित्त थैलीमा पत्थरी थियो। पेट दुख्ने गरेको थियो । अस्पतालले यहिँ ठीक हुन्छ भन्यो। बाहिर लैजान दिएन,’ इन्दलले भने, ‘डाक्टरले पेटको अप्रेशन गर्नुपर्छ भने। हामी सहमत भयौं। शल्यक्रिया गर्दा डाक्टरले आन्द्रा नै काटेछन्, केही समयपछि दिदीको मृत्यु भयो।’
आन्द्र काटिएपछि बिरामीको अवस्था गम्भीर बनेको र त्यसपछि अस्पतालका चिकित्सकले यहाँ हुँदैन बाहिर लैजानुस् भनेका उनले बताए। ‘अस्पतालकै लापरबाहीले दिदीको ज्यान गयो,’ उनले भने।
उपचार गर्न नसक्ने अस्पतालले पैसाको लागि बिरामी भर्ना गरेर लापरवाही गरी ज्यान लिएको आरोप मृतकका आफन्तको छ। बिरामीको मृत्यु भएपछि आफन्तले दोषीमाथि कारबाही र क्षतिपुर्तिको माग गरेका छन्।
दलित परिवारकी रुकमणी सदालाई ऋण काढेर जसोतसो उपचार गराउन आफन्तले अस्पताल भर्ना गरेका थिए।
अस्पतालकै लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अस्पतालमा तोडफोडको प्रयाससमेत गरेका छन्। त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा मृतकका छोरा रमानन्द शर्मासहित आधादर्जन व्यक्ति घाइते भएका छन्।
न्याय माग्दा बिरामीका आफन्तमाथि प्रहरीले उल्टै अन्याय गरको स्थानीय लभ यादवले गुनासो गरे।
अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नभएको दावी गर्दै अनुभवी र बरिष्ट सर्जन मार्फत नै शल्यक्रिया गरिएको जनाएको छ। पेट दुख्ने, भोमिट हुने जस्ता समस्या भएपछि बिरामीलाई अस्पतालमा भर्ना गरिएको र अवस्था बिग्रिदै गएपछि परिवारजनको सल्लाहमा मात्र शल्यक्रिया गरेको अस्पताल प्रशासनका अखिलेश साहले बताए।
‘सुरुमा बिरामी आउँदा हामीले उपचार गर्न सक्छौैँ नै भनेर भर्ना लिएका थियौं। चार दिनमा पनि ठीक नभएपछि पेटको शल्यक्रिया गर्नुपर्छ भनेर परिवारजनलाई जानकारी गरायाैँ। उनीहर तयार भए,’ उनले भने, ‘पेटको सल्यक्रिया गर्दा आन्द्रा नै बेरिएको थियो। तै पनि साढे ३ घण्टा लगाएर बिरामीको शल्यक्रिया गरियो। केही समयपछि बिरामीको मृत्यु भयो।’
उनले बिरामीको शल्यक्रिया नगर्दा पनि मृत्यु हुने अवस्था रहेको दाबी गरे।
एकसाता अघि मात्र जनकपुरको रामजानकी हस्पिटलको चरम लापरबाहीले महोत्तरीको गौशाला नगरपालिका भरतपुरकी २३ वर्षीय गंगादेवी महतोले ज्यान गुमाएकी थिइन्।
‘ओ’ पेजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा उनको मृत्यु भएको थियो। जनकपुरमा पछिल्लो समय कुनै मापदण्ड पुरा नगरी खोलिएक निजी अस्पतालमा चरम लापरवाहीले गर्दा पटक पटक समान्य बिरामीको पनि मृत्यु हुने गरेको छ। तर दोषीमाथि कारबाही नगरी पैसा र राजनीतिक शक्तिको आडमा ढाकछोप गर्ने प्रवृत्ति बढेको छ।
याे पनि रेडक्रस र अस्पतालको लापरवाहीले लियो सुत्केरीको ज्यान : ‘ओ’ सट्टा ‘बी’ पोजेटिभ रगत चढाइयो
याे पनि फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु, दुई चिकित्सक पक्राउ

प्रतिक्रिया