समाज


यी हुन् सिल गरिएका उपत्यकाका २५ स्थान

यी हुन् सिल गरिएका उपत्यकाका २५ स्थान

यज्ञराज जोशी
साउन ३०, २०७७ शुक्रबार १०:१०,

कोरोना भाइरसको महामारीका कारण शुक्रबारसम्म उपत्यकाका २५ स्थान सिल गरिएका छन।

उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएसँगै स्थानीय निकायले आफ्नो क्षेत्रमा जोखिम मूल्यांकन गर्दै धमाधम सिल गर्न थालेका हुन्।

सरकारले साउन पहिलो साता लकडाउन खुला गरेसँगै स्थानीय निकायलाई जोखिम स्तर हेरी सिल तथा निषेधाज्ञा जारी गर्ने अधिकार दिएको थियो।

काठमाडौँ उपत्यकामा बिहीबार मात्रै १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। योसँगै उपत्यकामा १५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

काठमाडौंमा १ हजार २ सय ७९, ललितपुरमा १ सय ९० र भक्तपुरमा १ सय ८ जनामा संक्रमण देखिएको छ। संक्रमण उपत्यकाका लगभग सबै स्थानमा देखिसकेको छ। बढी संक्रमित देखिएका स्थानमा स्थानीय निकायले सिल गर्ने क्रम पनि बढ्दो छ।

कहाँकहाँ गरिएको छ सिल?
महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकाका विभिन्न २५ स्थानमा सिल गरिएको हो। सिल गरिएको भनिएका क्षेत्रमा पनि चहलपहल भने भइरहेका छन्।

काठमाडौं महानगरपालिकाभित्रका मात्रै ७ वटाका विभिन्न स्थानहरु सिल गरिएको छ। महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ५, ७, १२, २१, २२, २७ र ३२ वडाका विभिन्न स्थानमा सिल गरिएको छ।

‘सिल गर्ने ठ्याक्कै मापदण्ड छैन। स्थानीय प्रतिनिधि, व्यापारी, प्रहरी र सरोकारवाला निकायको बैठकपछि जोखिम हेरी सिलको निर्णय लिने गरिन्छ,’ डंगोलले भने, ‘अहिले विभिन्न वडाका दुई दर्जन बढी स्थानमा सिल गरिएको छ।’

बिहीबारमात्रै काठमाडौं महानगरपालिकाको वडा नं. १४ ले कोरोना संक्रमण समुदायस्तरमै फैलिएको हुँदा थप सतर्कता अपनाउन भन्दै वडा नै १५ दिनका लागि सिल गर्ने निर्णय गरेको छ।

वडा नं. १४ मा खड्का गाउँ, कलंकी, बाफल, लामपाटी, रविभवन, गोदारगाउँ, मदननगर बल्खु, बल्खु तरकारी बजार, त्रिवि परीक्षा नियन्त्रण कार्यालय, ट्याङलाफाँट, कुलेश्वर, सरस्वती टोल लगायतका क्षेत्र पर्छन्।

यही वडाको भीडभाड हुने कुलेश्वर क्षेत्रका फलफूल व्यवसायीहरुसहित बुधबार र बिहीबारमात्रै ३० जना बढीमा संक्रमण भेटिएपछि सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष शोभा सापकोटाले जानकारी दिइन।

‘दिनदिनै संक्रमित थपिन थाले। समुदायस्तरमै जाने जोखिम देखियो,’ सापकोटाले भनिन्, ‘संक्रमणको जोखिम घटाउन सबैको सहमतिमा सिल गर्ने निर्णय गरिएको हो। स्थानीयले पनि साथ दिनुभएको छ।’

उनले वडामा माइकिङ गरेर नागरिकलाई सचेत पार्नुका साथै डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको जानकारी दिइन।

यसअघि गत आइतबार एउटै टोलका १६ जनामा कोरोना संक्रमण देखिएपछि कोटेश्वरको असर्फी टोललाई सिल गरिएको थियो। वडासदस्य राजेन्द्र न्यौपानेका अनुसार सो ठाउँमा हालपनि निषेधाज्ञा कायमै छ।

थप मानिसहरुको परीक्षणका लागि स्वाब संकलन गरिएको र उनीहरुको नतिजा नआएसम्मका लागि टोल सिल नै गरिने उनले बताए।

यस्तै महानगरको वडा नम्बर ५ स्थित कोटाल टोलको निषेधाज्ञा पनि जारी छ। प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि २४ गतेबाट जारी उक्त क्षेत्रमा सिल गरिएको थियो।

यस्तै काठमाडौंको महाबौद्ध र असन क्षेत्रमा यसअघि नै व्यापारीमा संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको थियो। शुक्रबार सोही क्षेत्र अन्तर्गतको विशालबजारदेखि इन्द्रचोकसम्म सिल घोषणा गरिएको छ।

वडा नम्बर २४ मा पर्ने उक्त क्षेत्रमा व्यापारीलाई संक्रमण देखिएपछि शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको हो।

भक्तपुर नगरपालिका वडानम्बर २, चाँगुनारायण नगरपालिका १ र ३, सूर्यविनायक नगरपालिका ४, मध्यपुर ठिमी नगरपालिका ८, दधिकोट, कौशलटार, सिपाडोल, लोकन्थली, सल्लाघारी, राधेराधे, खरिपाटी, पुरानो ठिमी, खरिपाटी लगायत क्षेत्रमा संक्रमित देखिएको क्षेत्र सिल गरिएको छ।

यस्तै ललितपुर को शंखमुल क्षेत्रमा पनि संक्रमित भेटिएपछि सिल गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए।

अनुगमन गरिँदै
काठमाडौं उपत्यकामा व्यक्ति तथा संस्थाले जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको निगरानीका लागि सरकारले टोली परिचालन गरेको छ।

काठमाडौँ उपत्यकाभित्र काठमाडौँ जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चार/चार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको गृहमन्त्रालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रशासकीय अधिकृत रमा घिमिरेका अनुसार महानगरका त्रिपुरेश्वर, थापाथली, कालीमाटी र कलंकी क्षेत्रमा दुई टोलीले गरेको अनुगमनका क्रममा मास्क नलगाउने ८२ जनालाई कारवाही गरिएको छ।

यस्तै ८५ वटा पसलमा सामाजिक एवं भौतिक दूरी कायम नगरेको भेटिएकाले सचेत गराइएको तथा मास्क लगाउने तरिका सिकाइएको उनले जानकारी दिइन्।

117875121_292975258665694_4292278696162012443_n.jpg

117864935_2606878152870420_1932794458991181749_n.jpg

117312904_749251982500458_3711502440444095677_n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .