समाज


निषेधाज्ञा हट्यो, अब घर, अफिस, बजार र यातायातमा भाइरसबाट कसरी बच्ने?

निषेधाज्ञा हट्यो, अब घर, अफिस, बजार र यातायातमा भाइरसबाट कसरी बच्ने?

यज्ञराज जोशी
भदौ २५, २०७७ बिहिबार ११:३३,

कोरोना संक्रमणदर नघटेपनि जीवन गुजारामा अप्ठेरो आइपरेको गुनासोपछि सरकारले बुधबारदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएको छ। यससँगै भिडभाड र चहलपहल ह्वात्तै बढ्न थालेको छ।

चहलपहल बढेसँगै संक्रमण फैलिने क्रम तीव्र हुने जनस्वास्थ्यका विज्ञहरुले चेतावनी दिएका छन्। संक्रमित फैलिन नदिन हरेक व्यक्ति जिम्मेवार बन्नुपर्ने उनीहरुको सुझाव छ।

घरमा कसरी सुरक्षित हुने?
उपत्यकामा पछिल्लो समय घरभित्रै संक्रमणका दर उच्च देखिएको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार उपत्यकामा पछिल्लो महिना देखिएका ८० प्रतिशत बढी स्थानीय संक्रमित छन्। तीमध्ये एकै परिवारभित्र धेरैलाई सर्ने संख्या पनि बढी छ।

‘कुनै व्यक्तिलाई लक्षणबिनाको संक्रमण देखियो भने उसबाट परिवारलाई सर्ने जोखिम ज्यादा हुन्छ,’ भाइरोलोजिस्ट समेत रहेका पाण्डेले भने, ‘घरबाट बाहिर निस्कने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्‍यो, दूरी कायम गर्नुपर्‍यो। घर प्रवेश गर्नुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्‍यो।’

उनले बाहिरबाट काम गरेर आउने मानिसले बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरुसँग दूरी कायम गर्न सुझाव दिए। घरमा पनि मास्क लगाउने र दूरी कायम गर्न सके आफूमा संक्रमण भएपनि परिवारका सदस्यलाई जोगाउन सकिने उनको भनाइ छ।

यस्तै कामबाट फर्केपछि मास्क, बाहिरी कपडा, चस्मा, झोलालाई जथाभावी नफाली अलग्गै सुरक्षित रुपमा राखी नुहाएरमात्रै परिवारका सदस्यसँग घुलमिल हुन उनले सुझाव दिए।

कार्यालयमा कसरी सुरक्षित रहने?
उपत्यकामा सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीहरुमा पनि संक्रमण देखिनेक्रम बढ्दो छ। विभिन्न स्थान हँुदै आउने सेवाग्राहीसँग घुलमिल हुनुपर्ने कर्मचारीहरुमा संक्रमण बढी देखिएको हो।

सरकारले जोखिमलाई मध्यनजर राख्दै कार्यालयमा ५० प्रतिशत कर्मचारी राखेर र बाँकीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन अनुरोध गर्दै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरु कार्यालयमा बढी समय बिताउने भएकाले स्वास्थ्य मापदण्ड नअपनाउँदा कार्यालय संक्रमणको जोखिम क्षेत्र हुनसक्ने बताए।

उनले कम्तीमा एक मिटरको दूरी कायम गर्न, नियमित रूपमा हात धुन, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनाले छोप्न, रुमालको प्रयोग गर्न, अनावश्यक वस्तुहरुलाई नछुन सुझाव दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन कार्यालयहरुले घरबाटै काम गर्ने र अनलाइन काम गर्ने वातावरणलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन्। तर, कार्यालय जानैपर्ने कर्मचारीले सावधानी अपनाउनुपर्ने उनले बताए।

‘कार्यालयमा कर्मचारीहरु एकअर्कासँग नजिक बस्नुभएन। सँगै बसेर चिया र खाजा खाने चलनलाई निरुत्साहित गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘सेवाग्राहीसँगको दूरी कायम रहने गरी काम गर्ने वातावरण मिलाउनुपर्‍यो। कार्यालय, शौचालय बेलाबेला निर्मलीकरण गर्ने, झ्याल, ढोका खुला राख्ने, स्यानिटाइजरको व्यवस्था गर्दा जोगिन सकिन्छ।’

सार्वजनिक यातायातमा कसरी सुरक्षित रहने?
लकडाउन खुकुलो भएसँगै सरकारले जोरबिजोरका आधारमा सार्वजनिक यातायात समेत सञ्चालन गर्न दिने निर्णय गरेको छ। सार्वजनिक यातायातमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना नगरे घर घरमा संक्रमण पुग्ने खतरा रहेको विज्ञहरु बताउँछन्।

डा. पुनले भारतमा सार्वजनिक यातायात चलेपछि संक्रमण ह्वात्तै बढेको उदाहरण दिँदै मापदण्ड पालना भएनभएको कडाइपूर्वक निगरानी गर्नुपर्ने बताए।

‘सार्वजनिक यातायातबाट संक्रमण फैलिने खतरा बढी हुने भएकाले यात्रा गर्दा विशेष सावधानी आवश्यक हुन्छ,’ डा. पुनले भने, ‘मास्कको अनिवार्य प्रयोग, एक सिट छाडेर बस्ने, अनावश्यक सतह नछुने, भाडा दिँदा पनि ठिक्क पैसाको जोहो गरेर दिने गर्नुपर्छ। चालक, सहचालक धेरैको सम्पर्कमा आउने भएकाले उनीहरुले सुरक्षाका उपाय अपनाउनुपर्छ।’

किनमेलमा कसरी सुरक्षित हुने?
संक्रमणको जोखिम रहेको अर्को मुख्य स्थान बजार रहेकाले त्यहाँ विशेष ध्यान पुर्‍याउन विज्ञहरुले सुझाव दिएका छन्।

जनस्वाथ्य विज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमण फैलन नदिन बजारको भिडभाड व्यवस्थापन गर्नु अबको मुख्य चुनौती रहेको बताए। उनले त्यसका लागि व्यवसायी र सेवाग्राही दुवै सचेत हुनुपर्ने बताए।

‘हरेक व्यवसायीले दूरी कायम हुनेगरी व्यवस्थापन गर्नुपर्‍यो बेलाबेला निर्मलीकरण गर्नुपर्‍यो। भिडभाड हुन दिनुभएन,’ डा. पाण्डेले भने, ‘सेवाग्राहीले पनि बढी समय बिताउने, धेरै सामान छामछुम गर्ने गर्नुहुँदैन। फटाफट किनेर त्यहाँबाट निस्कने, पञ्जा, मास्कको प्रयोग गर्दा धेरै हदसम्म त्यसले संक्रमण हुनबाट जोगाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .