समाज


कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

नेपालखबर
भदौ २९, २०७७ सोमबार ४:५६,

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङका २, नवलपरासी, कपिलवस्तु र महोत्तरीका एक÷एक जना रहेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु हुनेमा मोरङका दुई संक्रमितको रहेको र तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। ती शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो। उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो। उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ।

त्यस्तै महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब संकलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो। उनी उच्च रक्तचापका बिरामी रहेको बताइएको छ।

त्यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना संक्रमित एक महिलाको सोमबार मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान साढे ४ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

यही भदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको मृत्यु भएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad