समाज


तीन हप्ताको निषेधाज्ञापछि पनि किन कम भएन उपत्यकामा संक्रमण?

तीन हप्ताको निषेधाज्ञापछि पनि किन कम भएन उपत्यकामा संक्रमण?

यज्ञराज जोशी
भदौ २९, २०७७ सोमबार १३:५४,

काठमाडौं उपत्यकामा तीन हप्ता लामो निषेधाज्ञापछि पनि कोरोना संक्रमण दरमा कमी आएको छैन। निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकामा दैनिक औसत साढे पाँच सय जनामा संक्रमण भेटिन थालेको छ।

भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा सरकारले भदौ २३ गते रातिदेखि खुकुलो पारेको थियो। त्यसयताका ६ दिनमा मात्रै उपत्यकामा ३ हजार ३५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै उपत्यकामा ५१२ जनामा संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या जम्मा संक्रमित १२ हजार २७६ पुगेको छ।

मन्त्रालयका अनुसार निषेधाज्ञा खुकुलो भएपछि भदौ २८ गते ६२९, भदौ २७ गते ४८४, भदौ २६ गते ६९३, भदौ २५ गते ५६९ र भदौ २४ गते ४७१ जनामा संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्यविद डा.रवीन्द्र पाण्डे सरकारको रणनीति नै अर्थतन्त्र टाट पल्टाउने तर रोग नियन्त्रण गर्न नसक्ने खालको भएको बताउँछन्।

‘तीन हप्ता मानिसहरु घरमा बस्दा उनीहरुलाई ठिक भइसक्छ। यसले चेनब्रेक गर्नुपर्ने हो,’ डा. पाण्डेले भने, ‘तर निषेधाज्ञाको अवधिदेखि अहिले खुकुलो भएको एकहप्तामा पनि संक्रमण दरमा कमी आएन। यसको मतलब सरकारले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्न नसकेको स्पष्ट हुन्छ।’

उनले निषेधाज्ञामा मुख्य बजार र सडकको चेकजाँचमा कडाइ गरेपनि भित्री बस्तीमा मतलब नगरेको परिणाम अहिले देखिइरहेको बताए।

‘उपत्यकामा समुदायस्तरमै कोरोना फैलिसकेको छ। मेन रोड, बजारमा मात्रै प्रहरी खटाएर यो नियन्त्रण हुँदैनथ्यो,’ उनले थपे, ‘भित्री बस्तीमा, गल्लीमा गस्ती गर्नुपथ्र्यो। तरकारी बजार, डिपार्टमेन्ट स्टोरमा हुने भीडभाडका कारण पनि उपत्यकामा संक्रमण दर नघटेको हो।’

पाण्डेले भित्री गल्लीहरुमा समेत प्रहरीको गस्ती बढाउनुपर्ने, मास्क नलगाउनेलाई कडा कारबाही गर्नुपर्ने बताए।

‘मान्छेलाई डर कायम नभए हेलचेक्र्याइँ गर्छ,’ डा. पाण्डे भन्छन्, ‘मास्क नलगाउने, दूरी कायम नगर्ने, अनावश्यक घरबाट निस्कनेलाई जरिवानासहित कडा कारवाही गर्नुपर्छ। सडकमा एक–दुई जनाबाहेक बढीलाई सँगै हिँड्नै दिनुहुन्न।’

अर्का जनस्वास्थ्यविद डा. बाबुराम मरासैनीले उपत्यकामा समुदायस्तरमै संक्रमण फैलिसकेकाले संक्रमण घट्न अझै समय लाग्ने बताए।

‘पहिलो व्यक्तिको मृत्यु भएदेखि नै मैले समुदायमा संक्रमण फैलिरहेको छ भन्दै आएको थिएँ,’ उनले भने, ‘घनावस्ती भएको उपत्यकामा बिस्तारै संक्रमण व्यापक बन्दै गयो र अहिले परीक्षण बढ्दा धमाधम देखिन थाल्यो। अझै केही दिन यसरी नै संक्रमण देखिन्छ र केही दिनपछि घट्न सुरु हुने मलाई विश्वास छ।’

उनले परीक्षण बढाउँदै धमाधम संक्रमितलाई आइसोलेट गर्न सके थप संक्रमण हुन रोक्न सकिने बताए। उनले पहिलेको तुलनामा मानिसहरुको व्यवहारमा पनि परिवर्तन आएकाले दश–पन्ध्र दिनपछि उपत्यकामा संक्रमणदर ओरालो लाग्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पनि उपत्यकामा जोखिम कायमै रहेकाले सबैलाई सतर्कता अपनाउन आग्रह गरे। उनले निषेधाज्ञाले थप संक्रमण फैलनबाट रोकेको दाबी गरे।

‘उपत्यकामा दिनप्रतिदिन संक्रमण बढ्दै गएपछि चेनब्रकका लागि निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाले झन भयावह बन्ने अवस्थाबाट जोगाएको छ,’ उनी भन्छन्, ‘अहिले पनि जोखिम कायम रहेकाले सामान्य परिस्थिति जस्तो व्यवहार कसैले गर्नुभएन। सबैले जनस्वास्थ्यको मापदण्डको कडाइका साथ पालना गर्नुपर्‍यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .