रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव १८ घण्टापछि उठाइएको छ। प्रहरीको डगटोलीले घटनास्थलको तीन घण्टा लगाएर अनुसन्धान गरेपछि शव उठाइएको हो।
अपराधी पत्ता लगाउन विशेष तालिम प्राप्त कुकुरसहितको डग टोलिले शनिबार बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म घटनास्थलको अनुसन्धान गरको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट गएको डग टोलिले घटनास्थलको सुक्ष्म अनुसन्धान गरेपछि किशोरी संझाको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल लगिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए।
‘किशोरीको शवलाई पोस्टमर्टमको लागि नारायणी अस्पताल पठाएका छौं । अहिले पनि हामी घटनास्थलमै अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उपरीक्षक साहले नेपालखबरसँग भने।

शव भेटेको झण्डै १८ घण्टापछि प्रहरीले किशोरीको शव पोस्टमार्टमको लागि लगेको हो।
मावली घरमा बस्दै आएकी १६ वर्षीया किशोरीको शुक्रबार घाँस काट्न गएको बेला बलात्कारपछि हत्या भएको हो। रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहकी १६ वर्षीया छोरी संझाको हत्या कसले गर्यो खुलेको छैन।
शुक्रबार बिहान ९ बजे घाँस काट्न गएकी संझाको शव नग्न अवस्थामा वृन्दावन नगरपालिका ४ पल्टुवा टोलस्थित बागमती नहरको छेउमा दिउँसो ३ बजे फेला परेको थियो।
दिउँसोसम्म घर नआएकी परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। साँझ बाख्रा चराउन गएका स्थानीयले शव देखेपछि गाउँले र प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको पकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको अनुमान स्थानीयबासी र प्रहरीले गरेका छन्।
अपराधी पत्ता लगाउन घटनास्थलको सुक्ष्म अनुसन्धानका लागि प्रहरीले रातभरि संझाको शवलाई घेरा हालेर राखेको थियो।
नातिनीको विवाह गरिदिने हजुरबाको सपना अधुरै
किशोरी संझा बाल्यकालदेखि नै आफ्नो मावली वृन्दावन नगरपालिका ४ का बैजनाथ साहको घरमा बस्दै आएकी थिइन्। संझा दुई भाई र दुई बहिनी मध्येकी जेठी हुन्।

संझा बैजथानकी छोरी सुमित्राकी जेठी छोरी अर्थात नातिनी थिइन्। हजुरबुबा (नाना) बैजनाथ साहका अनुसार संझा सानै उमेरदेखि मावलीमै बस्दै आएकी थिइन्।
शुक्रबार बिहान खाना नै नखाइ उनी घाँस काट्न गएकी थिइन्। ‘घाँस लिएर आउँछु अनि खाना खाउँला भनि उ घाँस काट्न गएकी थिइ,’ बैजनाथले भने।
शुक्रबार दिउँसो १२ बजेसम्म उन, घर नफर्किदा खोजखबर गरेको हजुरबुबा बैजथानले बताए। तर साँझ नातिनीको बलात्कार गरी हत्या भएको पाएपछि अभिभावक शोकमा डुबेका छन्।
‘संझा सानैदेखि मामा घरमै हुर्केबढेकी थिइन् । उनलाई मावलीबाटै विवाह गरिदिने हाम्रो योजना थियो । तर अब त्यो सपना अधुरै रहने भयो’ दुखः पोख्दै हजुरबुबा बैजथानले नेपालखबरसँग भने, ‘दुष्ट पापीहरुले हामीबाट नातिनीलाई खोसे । ती पापीहरुलाई कहिल्यै भलो नहोस् । अपराधि पत्ता लगाई प्रहरीले कडा काबराही गरोस्।’
Shares

प्रतिक्रिया