समाज


कोरोना संक्रमितको हवाई उद्धारमा सेनालाई प्राथमिकता, विमानमा एक डाक्टर अनिवार्य

कोरोना संक्रमितको हवाई उद्धारमा सेनालाई प्राथमिकता, विमानमा एक डाक्टर अनिवार्य

यज्ञराज जोशी
असोज २४, २०७७ शनिबार १३:३२,

सरकारले कोरोनाका गम्भीर संक्रमितलाई हवाई उद्धार (एयर लिफ्ट) गर्न सेनालाई प्राथमिकता दिने गरी मापदण्ड जारी गरेको छ।

हालसम्म कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोर्दै आए पनि हवाई उद्धारमार्फत आउने बिरामीले भने त्यसको खर्च आफैँ ब्यहोर्नुपर्ने मापदण्डमा उल्लेख छ।

कोरोना संक्रमितको संख्या बढेसँगै देशभर गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दो छ। संक्रमितको संख्या शनिबारसम्ममा १ लाख ५ हजार नाघेको छ। देशभरमा शनिबार ३२१ जना आईसीयू र ७७ जना भेन्टिलेटरमा उपचाररत् छन्।

गम्भीर प्रकृतिका संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्नेको संख्या पनि बढ्दैै जाने भएकाले सरकारले हवाई उद्धारसम्बन्धी मापदण्ड जारी गरेको हो।

सबै जिल्ला र क्षेत्रमा पर्याप्त आईसीयू र भेन्टिलेटर नभएका कारण गम्भीर कोरोना संक्रमितलाई एयर लिफ्ट गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनका लागि मन्त्रालयले यो मापदण्ड जारी गरेको हो।

हवाई उद्धारका लागि विमान, हेलिकाेप्टर, एयर एम्बुलेन्सको प्रयोग गरी कोभिड-१९ का बिरामीहरूको ओसारपसार गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले इच्छुक हवाई कम्पनीले सूचना जारी गर्न सक्ने जनाउँदै सरकार मातहतका सेनाका विमानलाई प्राथमिकता दिने मापदण्डमा स्पष्ट व्यवस्था गरेको छ।

‘एयर लिफ्टिङ गर्न चाहने हवाई तथा विमान कम्पनीहरुलाई मन्त्रालयले संक्षिप्त सूचना प्रकाशित गरी सूचीकृत गर्न सक्नेछ,’ मापदण्डमा भनिएको छ, ‘माथि जेसुकै लेखिए पनि नेपाल सरकार मातहतरहेका नेपाली सेनाबाट सञ्चालनमा आएका हवाई, विमान–साधनलाई पहिलो प्राथमिकता दिई जतिसक्दो छिटो बिरामीलाई एयर लिफ्टिङ गर्ने ब्यवस्था मिलाइनेछ।’

 उद्धारका लागि उपचाररत् अस्पतालले बिरामीको उपचार सम्भव नभएको भनी उपचारमा संलग्न चिकित्सकले अनिवार्य प्रेषण गरेको गम्भीर प्रकृतिका बिरामी हुनुपर्ने मापदण्डमा उल्लेख छ। मापदण्ड अनुसार साधारण र मध्यम प्रकृतिका बिरामीलाई भने एयर लिफ्ट गरिने छैन।

चिकित्सकको व्यवस्थापन विमान कम्पनीले गर्नुपर्ने
बुकिङ गरेको विमानको भाडा बुकिङ गर्ने ब्यक्तिले ब्यहोनुपर्ने मापदण्डमा उल्लेख छ।

एयर लिफ्ट गर्दा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा २ जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। सोको व्यवस्थापन विमान कम्पनीले गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

‘विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिनहरू, पर्याप्त मात्रमा पीपीई, स्यानिटाइजर, डिस–इन्फेक्टेन्ट्स आदिजस्ता औषधि तथा औषधिजन्य सामग्रीहरू अनिवार्य हुनुपर्नेछ,’ मापदण्डमा भनिएको छ, ‘विमान चालक दलका कर्मचारीहरू, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउनु पर्नेछ।’

मापदण्डमा विमान अवतरण हुने स्थानबाट अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको अग्रीम व्यवस्था हुनुपर्ने र त्यसको व्यवस्थापन अस्पतालले गर्नुपर्ने उल्लेख छ।

एयर लिफ्ट गर्ने विमान कम्पनीले प्रचलित मूल्यभन्दा बढी शुल्क लिन नपाइने व्यवस्था पनि मापदण्डमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .