समाज


विज्ञ भन्छन्- टन्सिलले मुटुरोग निम्त्याउन सक्छ, ख्याल गरौँ !

विज्ञ भन्छन्- टन्सिलले मुटुरोग निम्त्याउन सक्छ, ख्याल गरौँ !

नेपालखबर
असोज २४, २०७७ शनिबार १५:१०,

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ। टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ।

त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्याले धेरै मानिसको अकालमा ज्यान जाने गरेको चिकित्सकले बताएका छन्।

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन्। एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा पछि लाखौँ खर्च लाग्ने गरेको बताउँछन्। प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गरेको छ।

यस्तो समस्या विपन्न परिवारमा धेरै छ। सोही विषयलाई चित्रण गर्दै डा.रेग्मीले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याएका छन्। नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शनिबार काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा.रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताए।

पुस्तकमा रेग्मीले बाथ–मुटुरोगका विविध पक्षका बारेमा सरल भाषामा उल्लेख गरेका छन्। पुस्तकमा नेपाली समाजको चित्र र रोगीको बेदना समेटिएकोे अन्तरक्रियाका सहिभागिले बताए। केटाकेटी समयमा घाँटी दुख्ने र टन्सिल हुने अवस्था आउँछ।

टन्सिल र बाथका कारण बालकालिकाको मुटुलाई कसरी क्षति पु¥याउँछ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा मिहिन ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको छ। यो पुस्तक विद्यार्थी, शिक्षक, सामाजिक व्यक्ति, राजनीतिज्ञ मात्रै नभइ स्वयं स्वासथ्यकर्मीका लागि समेत उपयोगी मानिएको छ।

कार्यक्रममा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा.उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ सचेत रहन आग्रह गरे। बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ। ‘बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो,’ शाक्यले भने।

जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले रेग्मीको पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने बताइन्। ‘यो पुस्तकमा राजनेता वा चिकित्सकले नै रोगबारे वास्ता नगरेको वा थाहा नपाएको कुरा उल्लेख छ’, पुस्तकमाथि टिप्पणि गर्दै डा.उप्रेतीले भनिन्, ‘बाथ जोर्नीमा बस्छ, तर यसले मुटु खान्छ भन्ने कुरा किताबमा स्पष्ट रुपमा राखिएको छ।’

अग्रज साहित्यकार तुलसी दिवसले स्वास्थ्य जस्तो विषयगत मान्छेले लेखेको पुस्तकमा मानिसका संवेदनाहरु पत्रैपत्र उनेर पुस्तकाकारको रुपमा प्रस्तुत गर्ने शिर्जनशील कलाका लागि लेखकको प्रशंसा गरे। रोगबाट मानिसको जीवन जोगाउन डा.रेग्मीले भौतिक रुपमा मात्रै नभई पुस्तकमार्फत समेत ठूलो योगदान गरेको दिवसले बताए।

साहित्यकार श्रीओम ‘रोदन’ले लाखौँ मुटुको ढुकढुकी सुनेका डा.रेग्मीले अक्षरमार्फत विरामी भएका, विरामी नभएका र उपचारमा संलग्न चिकित्सका लागि समेत पुस्तकमार्फत सचेत गराएको बताए।

बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रभावित बालबालिकाका लागि ठूलो समस्या हो। यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको ज्यान जाने गरेको विज्ञको भनाई छ। नेपालमा वार्षिक ८ सय मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था छ। हजारौँ मासिन यस रोगबाट प्रभावित हुँदै आएका छन्।

सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ–मुटुरोग बारे मुलुकका ९९ प्रतिशतलाई जानकारी नभएर यो रोग छायामा परेकाले जनचेतना जगाउन पुस्तकका माध्यामबाट यो प्रयास गरिएको डा. रेग्मीले बताए। पुस्तकमार्फत डा. रेग्मीले समाजका विपन्न वर्गका बालबालिकाको जटिल मुद्दालाई उठाउने प्रयास गरेका छन्।

मुटु रोगबाट प्रभावित भई डा.रेग्मीबाट उपचार सेवा लिएकी विजया नापितले ‘टन्सिलले बिगारेको मुटु’ पुस्तक आफ्नै जीवनसँग मेल खाने रहेको उल्लेख गर्दै स्वास्थ्यमा बेलैमा ध्यान दिन सके रोगबाट बच्न सकिने बताइन्।

हृदयरोग निवारण प्रतिष्ठानका संस्थापक कोषाध्याक्ष डा.खेम कोइरालाले उक्त पुस्तकको बिक्रीबाट आएको रकम बाथ­मुटु रोग रोकथामका लागि स्थापित अक्षयकोषमा जम्मा हुने जानकारी दिए। विगत ३३ वर्षदेखि मुटु रोगको उपचारमा संलग्न डा.रेग्मीका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन्। उनले २०५४ सालबाट पुस्तक लेखन थालेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad